विराटनगरः स्थानीय संस्कृति र जातीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ भोलिदेखि विराटनगरमा चारदिने सडक महोत्सव हुने भएको छ ।
विराटनगर महानगरपालिकाको मुख्य प्रवद्र्धन र मञ्जिना मुभिज क्रिएसनको आयोजनामा हुने महोत्सवमा नेवारी, थारु, मारवाडी, थकाली सहित स्थानीय विभिन्न जातिका खानाका परिकारहरू मुख्य आकर्षक रुपमा रहने जनाइएको छ । त्यस्तै फुट ट्रक थप आकर्षणका रुपमा रहने आयोजकको भनाइ छ ।
५० वटा स्टल रहने महोत्सवमा खानाबाहेक स्थानीय उत्पादन, व्यावसायिक स्टल पनि रहनेछन् । आयोजक समितिका प्रबन्ध निर्देशक जतिन ताम्राकारका अनुसार महोत्सवमा १ करोड करोबार हुनेछ ।
बालबालिकाका लागि गेमजोन, हरेक साँझ स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहनेछ । “यो महोत्सव नेपाल सरकारले अघि सारेको भ्रमण वर्षप्रति पनि लक्षित छ,” आयोजक ताम्राकारले भने, “त्यही भएकाले प्रदेश–१ का प्रमुख पर्यटकस्थलहरूको फोटो प्रदर्शनी पनि राखिएको छ ।”
सीमावर्ती भारतीय बजार जोगबनी, फारविसगञ्ज, सुनसरी, मोरङ, झापा लगायतका १ लाखभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने कार्यक्रम सहसंयोजक सन्तोष महत (स्यान्ट्रो)ले जानकारी दिए । महोत्सव हरेक दिन ३ देखि राति ८ बजेसम्म सञ्चालन हुनेछ ।