इटहरीः करिब एक करोड रुपैया ठगी गरेको आरोपमा फरार इटहरीका एक सुन पसले काठमाडौंबाट पक्राउ परेका छन् । इटहरी ६ स्थित श्री लक्ष्मी ज्वलेर्सका संञ्चालक बिरेन्द्र बिकले इटहरीका १३ जनाको करिब एक करोड रुपैया ठगी गरेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा बैशाख २६ गते सामूहिक जाहेरी दिएका थिए ।
बिकले ब्याजको प्रलोभनमा पारी गैर कानूनि रुपमा पास बुक प्रयोग गरेर बिभिन्न व्यक्तिबाट रकम उठाएका थिए । पैसा लिएको करिब एक बर्षपछि आफुहरुलाई ब्याज रकम नदिएको भन्दै प्रहरीमा पिडित समूहले जाहेरी दिएका थिए ।
जाहेरीपछि बिक फरार थिए । उनलाई काठमार्डौको बालुजाबाट पिडितहरुले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको पिडित मध्येका एक गोपाल राईले जानकारी दिए ।
‘पिडित केही साथीहरुले काठमार्डौबाट बिकलाई नियन्त्रणमा लिइ प्रहरीलाई मंगलबार बुझाएका रहेछन्’ उनले भने ‘काठमार्डौ प्रहरीले उनलाई हवाई जहाज मार्फत बिराटनगर ल्याएर इटहरी प्रहरीकहाँ बुझाएको अबस्था छ ।’
बिकले आफ्नो २ लाख ८५ हजार छिमेकी कमला दाहालको २२ लाख लगायत बिभिन्न व्यक्तिबाट रकम उठाएर फरार भएको उनले बताए ।
इलाका प्रहरी कार्यालय इटहरीले बिकलाई पक्राउ गरेर इटहरी ल्याइएको जानकारी दिदै ठगीको बिषयमा आबश्यक अनुसन्धान हुने बताइएको छ ।