लहानःभ्रमण वर्ष २०२० लाई लक्ष्य गरी प्रदेश २ सरकार र स्थानीय सरकारले सिरहा जिल्लालाई सलहेश पर्यटकीय सर्किटको रुपमा विकास गर्न लागेको छ । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते मात्र फूल फुल्ने सिरहाको सलहेश फूलबारी क्षेत्रमा पर्यटकको आकर्षण बढ्न थालेपछि सिरहा जिल्लालाई सलहेश सर्किटको रुपमा विकास गर्न लागिएको हो ।
सलहेश फूलबारीमा एक दिन मात्र माला आकारमा फुल्ने र साँझ पख ओइलाएर जाने फूलको महत्व र सलहेश फूलबारीको ऐतिहासिक र पौराणिक पक्ष बुझ्न आन्तरिक र बाह्य पर्यटकहरुको आगमन यस क्षेत्रमा बढ्न थालेको छ ।
सिरहाको सलहेश फूलबारी क्षेत्रलाई पर्यटकीय सर्किटको रुपमा विकास गर्ने उद्देश्यका साथ यस वर्ष बजेट विनियोजन गरी प्रदेश सरकार अघि बढेको प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ – “सिरहा जिल्लालाई सलहेश सर्किटको रुपमा विकास गर्न आवश्यक बजेटसँगै योजनाहरु बनाएका छौं । त्यहाँ निर्माण गर्नुपर्ने भौतिक पूर्वाधारसँगै पर्यटकलाई लोभ्याउन सकिने योजनाहरु समेत बनाइरहेका छौं ।” योजनाहरु तयार भइसकेपछि छिट्टै कार्यान्वयनमा लैजाने मन्त्री रायको भनाइ छ ।
मन्त्री रायका अनुसार सलहेश फूलबारी क्षेत्रलाई प्रदेश २ कै महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास गर्ने प्रदेश सरकारले लक्ष्य लिएको छ र स्थानीय तहसँग समन्वय गरी सो क्षेत्रलाई अझै व्यवस्थित र आकर्षक बनाउने योजना छ ।
प्रदेश सरकारले सलहेश क्षेत्रलाई विशेष पर्यटकीय सर्किटको रुपमा विकास गर्ने भएपछि सिरहाका स्थानीय तहसमेत उत्साहित भएका छन् । सलहेश फूलबारी क्षेत्रलाई व्यवस्थितसँगै थप रमणीय र प्रदेश २ कै आकर्षक पर्यटकीय गन्तव्य बनाउन योजनाबद्ध ढङ्गबाट अघि बढेको लहान नगरपालिकाका प्रमुख मुनी साह बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ – “सलहेश फूलबारीलाई सिरहाको मात्रै होइन, प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नीतिअनुरुप यस वर्ष नगरसभाले रु दुई करोड १५ विनियोजन गरेको छ ।”विनियोजित बजेटलाई सलहेश फूलबारी क्षेत्रमा रहेका जग्गाहरुको व्यवस्थापन तथा विस्तार गर्न जग्गा खरिदसँगै बृहत् विकासका लागि डिपिआर तयार गर्न खर्चिने र थप योजनाहरु समेत बनाउने नगरप्रमुख साहको भनाइ छ । सलहेश फूलबारी क्षेत्रमा पर्यटकलाई आकर्षण गर्ने पूर्वाधारहरुको निर्माणसँगै पूर्व–पश्चिम राजमार्गदेखि सलहेश फूलबारीसम्म पुग्ने सडकको स्तरोन्नतिको काम समेत तीव्र रुपमा अघि बढाइएको नगरप्रमुख साह बताउनुहुन्छ । सलहेश फूलबारी क्षेत्रभित्रै व्यापारिक परियोजनाका लागि भवन निर्माण गर्न सकिने सम्भावनाको समेत नगरपालिकाले अध्ययन गरिरहेको छ ।
“जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको सलहेश फूलबारी क्षेत्रमा बढीभन्दा बढी पर्यटकलाई आकर्षण गर्ने हामीले लक्ष्य लिएका छौं,” भ्रमण वर्ष २०२० प्रदेश २ समन्वय समितिका सदस्य तथा लहान नगरपालिका वडा नं ७ का वडाध्यक्ष राकेश गुप्ता रोशनले भन्नुभयो – “हामीले लुम्बिनीको गौतमबुद्ध, जनकपुरको जानकी मन्दिर जस्तै सिरहाको सलहेश क्षेत्रलाई विकास गर्न चाहेका छौं । सिरहा जिल्लालाई सलहेश सर्किटको रुपमा विकास गर्ने हाम्रो सोच छ ।”
पर्यटकलाई आकर्षण गर्न सलहेश क्षेत्रमा स्वागत द्वार र तुलहरु राखिएका छन् भने घुम्न आउने पर्यटकको आरामका लागि फूलबारीभित्रै धर्मशालाको समेत निर्माण गरिएको छ ।
घुम्न आउने पर्यटकलाई सहज रुपमा सलहेश क्षेत्र पुग्न बाटोघाटो सँगै यातायातको समेत व्यवस्था मिलाइएको रोशनले बताउनुहुन्छ । प्रदेश २ सरकार र स्थानीयस्तरबाट समेत सलहेश फूलबारीलाई पर्यटकीय सर्किटको रुपमा विकास गर्न थालेपछि यतिबेला आन्तरिक र बाह्य पर्यटकहरुको पनि आकर्षण बढेको छ ।
भ्रमण वर्ष शुरु भएको करीब दुई साताको अवधिमा करीब दुई हजार भन्दा बढी पर्यटक यहाँ आएका सलहेश फूलबारीका पुजारी वीरदेव धामी बताउनुहुन्छ । सलहेश फूलबारी क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सलहेश क्षेत्रमा घुमफिर गर्नाका साथै सलहेश फूलबारीको महत्वबारे समेत जानकारी दिने गरेको पुजारी धामीको भनाइ छ । सलहेश क्षेत्रमा घुम्न आउनेमा धेरैजसो आन्तरिक पर्यटक छन् भने थुप्रै भारतीय पर्यटक पनि यहाँ आउँछन् ।
विस १३२५ ताकाका प्रतापी राजा सलहेशको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप प्रत्येक वर्ष वैशाख १ गते यहाँ परम्परागत मेला लाग्ने गर्छ । राजा जयवद्र्धन सलहेश र उहाँकी पे्रमिका दौना मालिनीबीचको पे्रमको प्रतीक मानिने सलहेश फूलबारी करीब १० बिघा क्षेत्रफलमा फैलिएको छ । सगरमाथा अञ्चलकै प्रमुख व्यापारिक केन्द्र लहान बजारदेखि करीब ५ किलोमिटर पश्चिममा रहेको फूलबारी क्षेत्रभित्र हारम प्रजातिको प्राचीन दुई रुखको मध्य भागमा प्रत्येक वर्ष वैशाख १ गते एक जोडी माला आकारका फूल फुल्छ र त्यो फूल त्यही दिन साँझ औइलाएर जान्छ । पर्यटकीय महत्व बोकेका विभिन्न दर्शनीय स्थलहरुमध्ये सलहेश फूलबारीमा नयाँ वर्षको पहिलो दिन पूजाअर्चना गरी नयाँ कामको थालनी गर्ने चलन छ । त्यही फूललाई साक्षी राखी युवायुवतीहरु प्रणय सूत्रमा बाँधिने गर्दछन् ।

salahesh
सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको जानकारहरुको भनाइ छ । ते¥हौँं शताब्दीका लोकनायक मानिने सलहेशको पूजाअर्चनाले सन्तान प्राप्ति र चर्म रोग, कुष्ठ रोग जस्ता रोग ब्याधि निको हुने जनविश्वास रहेको छ । फूलबारीभित्र दुर्लभ प्रजातिका जडीबुटीहरु खोज्न भारतको बिहार, पश्चिम बंगला, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषा लगायतका जिल्लाबाट हजारौंको सङ्ख्या मानिस आउने गर्दछन् । राजा सलहेश प्रत्येक दिन सिरहा सदरमुकामस्थित आफ्नो राजधानी महिसोथा गढबाट कमल दहमा स्नान गरी फुलबारीमा आफ्ना साथीहरुसँग कुस्ती लडेपछि प्रेमीका मालिनीसँग वनविहार गर्ने किम्बदन्ती रहेको छ ।
सलहेश फूलबारी क्षेत्रभित्र चारैतिर मूल फुटेर पानी बगिरहेको दृश्यले समेत पर्यटकको मन तान्छ । फूलबारीभित्र प्रवेश गरेपछि शान्ति र पे्रमको भाव आफै उत्पन्न हुने अनुभूति यहाँ आउने धेरैले गरेका हुन्छन् । विगतमा राज्यको ध्यान नपुग्दा र अपेक्षाकृत प्रचारप्रसार हुन नसक्दा सलहेश फूलबारी क्षेत्रको विकास हुन नसकेको बताउने तत्कालीन पडरिया गाविसका पूर्वअध्यक्ष मागैन कामैत भन्नुहुन्छ – “पछिल्लो समय स्थानीय सरकारदेखि केन्द्र सरकार समेतको सलहेश फूलबारी क्षेत्रमा ध्यान गएको छ र विस्तारै यस क्षेत्रको
विकास हुन गइरहेको आभाष भएको छ ।”