विराटनगरः प्रदेश एक सरकारले धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रण अभियान सुरु गरेको छ । आजदेखि प्रदेश एकको राजाधानी विराटनगरबाट शुरुभएको अभियान चौधै जिल्लाभरी शुरु गरिने सरकारको योजना रहेको छ । यसका लागि जनचेतनालाई पहिलो चरणमा अभियानको रुपमा लैजाने र दोस्रो चरणमा नियमनका लागि तयारी थाल्ने सरकारको योजना रहेको प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेल जानकारी दिए ।
उनले चैत्रसम्ममा प्रदेशभरी सचेतना अभियान सम्पन्न गर्ने र वैशाखदेखि प्रदेशमा कहिँ पनि सार्वजनिक स्थानमा धुम्रपान एवंम सुर्तिजन्य पदार्थ सेवन र प्रयोगलाइ पुर्ण बन्देश लगाउने योजना रहेको जानकारी दिए ।
विराटनगरबाट शुरु गरिने यो अभिायनलाई महानगरले पनि सहयोग गर्ने भएको छ । महानगर क्षेत्र भित्र रहेका सार्वजनिक एवंम स्वास्थ्य र शिक्षण सँस्थाको एक सय मिटर क्षेत्र भित्र सुर्तीजन्य पदार्थको विक्रि वितरणलाई ठप्पै पार्ने र सचेतनाका कार्यक्रम पनि सँगै चलाउने विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले प्रतिबद्धता जाहेर गरेका छन् ।
मुटुरोग विशेषज्ञ डाक्टर शंकर अधिकारीले सरकारी नियमनलाई कार्यान्वयन भन्दा ठुलो सचेतना रहेको बताए । सबैले बानी सुधार गर्नतर्फ लाग्ने प्रेरित गर्ने भन्दै सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई प्राणघातक रोग लागेसँगै रोगप्रतिरोधि शक्ति क्षण हुँदै जाने अधिकारीले जानकारी दिए ।
२०६८ सालमा बनेको धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणको ऐन पुर्णरुपमा कार्यान्वयनमा नआइरहेको बेला प्रदेश सरकारले कडा नियमन गर्ने तयारी थालेको हो । नेपालमा प्रतिवर्ष २७ हजार व्यक्ति धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले ज्यान गुमाउने गरेको तथ्याँक छ ।

pradeshportal (5) pradeshportal (1) pradeshportal (3) pradeshportal (4)