इलामः२० रोपनीबाट व्यवसायिक सुन्तला खेती शुरु गरेका रोङ्ग गाउँपालिकाका व्यवसायिक किसान टंक थापा अहिले एभोकाडोको स्यहार चाकरमा ब्यस्त छन । रोगले सुन्तला बगान नै सखाप बनाउन थालेपछि वैकल्पिक खेतीको रुपमा एभोकाडो शुरु गर्न थालेका हुन । सुन्तला बगानलाई यथावत बनाई राख्नसक्छुकि भनेर सुन्तला मरेका ठाउँमा नयाँ विरुवा पछि रोप्दैछन । सुन्तला मर्ने क्रम बढेपछि अहिले एभोकाडो रोप्न शुरु गरेका हुन । थापाले सुन्तलाबाट मात्रै वार्षिक पाँचदेखि १० लाख रुपैँयासम्म आम्दानी गर्ने गरेका उनले अबका दिनमा त्यो आम्दानी सम्झन बाहेकको विकल्प छैन । थापाको पूरै बगान सखाप नभएपछि उनको बगानपनि मर्नथालेपछि उत्पादन घट्न थालेको छ । सुन्तला मर्नथालेपछि उनले अर्को विकल्पमा एभोकर्डो लगाउन थालिसकेका छन ।
इलाम नगरपालिका–५ बरबोटेका किसान अभिनारायण पौडेलपनि दुईलाख सम्मको सुन्तला बेचेका थिए तर यसवर्ष उनले दश हजारको मात्र सुन्तला फलाउन सके । उनकोे बगानमा भने रोगले संक्रमण गरेको छ । १० रोपनीसम्म फैलिएको सुन्तला अहिले पाँच रोपनीमा मात्रै रहेको पौडेल बताउँछन । इलामनगरपालिका पाँचकै कमलकुमार सुवेदीको पनि पीडा पौडेलको जस्तै छ । तीन रोपनीबाट खेती गर्न शुरु गरेका उनले खेती विस्तार गर्दै सात रोपनी पु¥याएका थिए । रोग नलाग्दा सुन्तलाबाट मात्रै डेढ लाखसम्म आम्दानी गरेको उनको अहिले १० हजार रुपैँया मात्रै आम्दानी हुन थालेको छ । सुवेदी भन्छन, सुन्तला खेतीबाट निराश भएर अहिले कफी खेती गर्न थालेको छु ।
वार्षिक तीन करोड रुपैयाँसम्म सुन्तलाबाट आम्दानी गर्ने इलाममा रोगको संक्रमणले सुन्तलाका बगान मासिदै जान थालेपछि किसान चिन्तित भएका छन् । सुन्तला खेतीको पकेट क्षेत्र जिल्लाको रोङ्ग गाउँपालिकाको सलकपुर र जिर्मलेका दुई सय भन्दा बढी सुन्तलाका बगान रोगका कारण सखाप भएका हुन् । यस गाउँमा सुन्तलाका दुई सय ५० बगान थिए । अहिले २० बगान मात्रै बाँकी छ । दुई सय ३० बगान भने रोगका कारण सबै सखाप भएको किसानको भनाई छ । सुन्तलामा सिट्रस ग्रिनिङ रोग लागेर सुन्तलाका बगान मासिदै गएको छ ।
सुन्तला, किसानको मुख्य आम्दानीको स्रोत मात्रै होइन रोङ्ग गाउँपालिकामा पर्यटक भित्र्याउने मुख्य आर्कषणको बाली समेत हो । पालिकामा पुनः व्यवसायिक खेती गर्नको लागि किसानलाई जागरुक गराउन पालिकाले किसान विशेष कार्यक्रम सुचारु गर्न लागिएको वडा नम्बर ६ का वडाध्यक्ष समेत रहेका रोङ्ग गाउँपालिकाका प्रवत्ता मनिकुमार स्याङ्गबो ‘सुवास’ तामाङ्गले बताए । उनले भने, ‘२० परिवालाई पाँच लाख बजेट विनियोजन गरेका छौँ । यसबाट सुन्तलाको समस्या पहिचान गर्ने र माटो विशेषज्ञसँगको सल्लाहमा अग्र्यानिक खेतीमा जोड दिनको लागि समिति समेत गठन गरिसकेको छ । संघ र प्रदेशसँग सुन्तला जोन कार्यक्रम माग समेत गरिएको छ । यसले सुन्तला खेतीलाई व्यवसायिक खेती बनाउन चाहनेलाई राहत मिल्ने प्रवक्ता तामाङ्गको भनाई छ ।
कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७४/०७५ मा तीन हजार तीन सय २४ हेक्टर क्षेत्रमा सुन्तला खेती हुने गरेको छ । यसबाट तीन सय पाँच मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको थियो । यस्तै आव २०७५÷०७६ मा भने तीन हजार एक सय हेक्टर क्षेत्रफलमा सिमित भएको पाइएको छ । उत्पादन भने दुई सय ९५ मेट्रीक टन भएको छ । इलामका सुन्तला विर्तामोड, दमक, विराटनगर, धरान, पोखरा, काठमाडौं लगायतका बजारमा पुग्थ्यो । भारतको दार्जि्लिङदेखि कोलकत्तासम्म इलाममा उत्पादित सुन्तला अहिले पनि लोकप्रिय छ । जिल्लाभरीको सुन्तलाबाट इलाममा वार्षिक करिब ११ करोड रुपैयाँसम्म जिल्ला भित्रिएको कार्यालयको तथ्यांक छ । कार्यलयका अनुसार, जिल्लाका इलाम नगरपालिका, माईजोगमाई गाउँपालिका, रोङ गाउँपालिकामा सुन्तलाको व्यवसायिक खेती हुने गरेको छ ।