विराटनगरःराष्ट्रिय सभा सदस्यका लागि विहिबार मुलुकका सातै प्रदेशमा निर्वाचन हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण गरिसकेका छन् ।
राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नम्बर १ को विराटनगरमा निर्वाचन हुँदैछ । आयोगका अनुसार मतदान हुने केन्द्रमा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि बुधबारनै विराटनगर पुगिसकेका छन् । वीरेन्द्र सभागृहमा निर्वाचन गर्न सबै तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा ५ सय ५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुख एक हजार ५ सय ६ समेत गरी दुई हजार ५६ मतदाता छन् । निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त तुल्याइएको आयोगले जनाएको छ ।
प्रदेश नम्बर १ मा हुने निर्वाचनमा कांग्रेसले झापामा राजेन्द्रकुमार घिमिरे, पाँचथरका निरबहादुर विक र सुनसरी धरानकी मीनापुलामी मगरलाई उमेदवार बनाएको छ । यता नेकपाले झापाका देवेन्द्र दाहाल, मोरङका गोपी अछामी र सुनसरीकी इन्दु गौतमलाई उमेदवार बनाएको छ ।
१ नम्बर प्रदेशमा ९३ जना सांसद र एक सय ३७ स्थानीय तह छन् । स्थानीय तहका प्रमुख र उप्रमुखसहित दुई सय ७४ गरी तीन सय ६७ जना मतदाता हुने छन् । दुवैतर्फको गरी प्रदेशमा कुल मतभार भने नौ हजार तीन सय ९६ हुनेछ ।
यो प्रदेशमा नेकपा एमाले मात्रैले ५५ प्रतिशत मत सुरक्षित छ । तत्कालीन एकीकृत नेकपा माओवादीको जोड्दा नेकपाको मात्रै कुल मतभार ६७ प्रतिशत पुग्छ । माओवादीका प्रमुख, उपप्रमुख १६ र प्रदेश सांसद १६ सहित उनीहरूको कुल मतभार एक हजार ५६ छ । दुवै दलको जोड्दा कुल मतभार ६ हजार दुई सय ५८ हुन आउँछ । नेपाली कांग्रेसका प्रदेश नम्बर १ मा स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी ६८ र प्रदेश सांसद २१ जना छन् । जसको कुल मतभार दुई हजार दुई सय ३२ पुग्छ ।
को–कसको पूरा हुँदैछ कार्यकाल
राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्य छन् ।
उनीहरुमा सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, विन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् ।