इटहरीः तीन दशकभन्दा बढी सङ्गीतको साधनामा सक्रिय इटहरीका स्रष्टा राम धामीलाई नेपाल सरकारले वरिष्ठ कलाकारको परिचयपत्र दिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य समेत रहेका धामीले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट उक्त परिचयपत्र पाएका हुन् ।
राज्यबाट प्रतिष्ठित कलाकारको परिचय पाउने धामी इटहरीका प्रथम स्रष्टा भएका छन् । धामीले यही भदौ १४ गते यस्तो परिचयपत्र पाएका हुन् । यस्तो परिचय पाउनेहरूमा कालीप्रसाद रिजालदेखि जेबी टुहुरेसम्म छन् । ३ दशक बढी सङ्गीत र कलाको क्षेत्रमा काम गरेकालाई मन्त्रालयले यस्तो परिचय प्रदान गरेको हो ।
राज्यको प्रतिष्ठित कलाकारको परिचयपत्र पाएका धामीले खुशी व्यक्त गरे । उनी अब आफ्नो गृहनगर इटहरीको आफ्नै धुन बनाउने सोचमा छन् । उनी भन्छन्, ‘स्थानीय सरकारले सहयोग गरे इटहरीको धुन बनाउन आतुर छु ।’ इटहरी धुनमा इटहरीमा लामो बसोबास गर्ने समुदाय र संस्कृतिको झल्को दिने मौलिक बाजा प्रयोग गरेर बनाउने सोच रहेको धामीले बताए ।
धामीले यसअगाडि थारु जातिको मौलिक झुम्रा नृत्यको वृत्तचित्र पनि बनाइसकेका छन् । राज्यको प्रतिष्ठित कलाकारको परिचयपत्रधारीले राज्यका विभिन्न सेवा तथा सुविधा पाउनेछन् । राजधानी काठमाडांैको सिभिल अस्पतालमा ५० प्रतिशत उपचार छुटदेखि स्रष्टालाई राज्यले दिने अन्य सुविधा तथा सम्मानहरू प्रतिष्ठित कलाकारले पाउनेछन् ।
यस्तो छ धामीको गायन तथा साङ्गीतिक यात्रा
२०४८ सालमा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरेका धामीले गीत गाउन थालेको त २०४३ सालबाटै हो । सङ्गीत बढी गर्ने धामीले थुप्रै नेपाली गीतमा काम गरेका छन् । उनले गाएका केही थारु गीत त अझै पनि धेरैको मुखमा झुण्डिएकै छन् । ‘एक बोतल दारु...’, ‘चढ्लै जवानी हम्रा...’, ‘चैत गैले बैशाख यैलै...’ र ‘बुल्कि बाली हो...’ जस्ता थारु भाषाका उनले गाएका गीत हिट छन् ।
इटहरीमा २०५० सालबाट सञ्चालित सङ्गीत साधाना महाविद्यालयमा सङ्गीत सिकाउँथे धामी । सङ्गीत सिक्न पूर्वका विभिन्न स्थानको ठेगाना भएका विद्यार्थी आउँथे । त्यहाँ आउनेमा माओवादी पनि परेछन् । त्यसपछि प्रहरीले धामीलाई तत्कालीन अवस्थामा ‘आतङ्ककारी सङ्गठन’ भनिएको माओवादीको नेता सम्झेछन् ।
प्रगतिशील विचारक भए पनि माओवादी थिएनन् धामी । मार्क, लेनिन र माओलाई पढे पनि बन्दुकबाट मात्रै नेपालमा सत्ता प्राप्त हुन्छ भन्ने नेपाली माओवादीको विचारमा सहमत पनि थिएनन् धामी । तर, उनै धामी भने माओवादी भनिएर थुनामा थिए । सङ्कटकालको समयमा २१ दिन इटहरीमा थुनिएका धामीले इनरुवा र भाण्टाबारीमा गरेर १ सय भन्दा धेरै दिन प्रहरी हिरासतको कालो कोठामा बिताए ।
सय दिन बढीको बिना प्रमाणको असत्य कसुरमा बन्दी बनेका धामी २०५८ साल चैत २ गते सादा तारेखमा छुटे । सङ्गीत सिकाएकै आधारमा राज्यबाट आतङ्ककारी भन्दै जेल हालिएका धामी अहिले राज्यकै प्रतिष्ठित कलाकार परिचयपत्र पाउने व्यक्ति भएका छन् ।