विराटनगरःराष्ट्रियसभा सदस्यको लागि विहीबार भएको भएको निर्वाचनमा प्रदेश १ मा तीनै जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् ।
नेकपाका उम्मेदवारहरू देवेन्द्र दाहाल, गोपीबहादुर सार्की (आछामी) र इन्दीरादेवी गौतम विजयी भएका हुन् ।
अन्य तर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार प्राप्त गरे । उनले कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार घिमिरेलाई पराजित गरे । घिमिरेले २ हजार ७ सय ६६ मत भार प्राप्त गरे । यसैगरी समाजवादी पार्टीका उम्मेदवार भरतराज दाहालले २ सय ६४ मतभार प्राप्त गरे । नेकपा दाहाललाई हालिएको एक मत भने बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
महिलातर्फ विजयी नेकपाकी गौतमले ६ हजार ४ सय २६ मतभार प्राप्त गरिन । कांग्रेसकी मिना पुलामी मगरले २ हजार ६ सय २२ मतभार प्राप्त गर्दा समाजवादी पार्टीकी कमला बडाहीले २ सय ६४ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दलिततर्फ विजयी बनेका नेकपाका गोपीबहादुर आछामीले ६ हजार ३ सय ३० मतभार पाए । कांग्रेसका निरबहादुर विश्वकर्माले २ हजार ७ सय १८ र समाजवादी पार्टीका ज्ञानकुमार परियारले २ सय ६४ मतभार प्राप्त गरे । निर्वाचनमा प्रदेशसभा सदस्य नेकपाकी गुलेफुन मिया अनुपस्थित थिइन । नेकपाकाबाट विजयी स्थानीय तहका एक प्रमुख निर्वाचनमा मत हाल्न आएनन् । निर्वाचनको लागि प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ रहेको थियो । प्रदेश १ मा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७४ गरी कुल ३६७ जना मतदाता थिए । प्रदेश र स्थानीय गरेर कुल मतभार भने ९ हजार ३ सय ९६ रहेको छ ।
अछामी पूर्व खेलकुद राज्यमन्त्री हुन् । नेकपाका मोरङ जिल्ला कमिटीका सह–इन्चार्ज पनि हुन । गौतम प्रधानमन्त्रीका परराष्ट्र ममिला सल्लाहकार डा.राजन भट्टराईकी सासू हुन् । दाहाल तत्कालीन एमालेको झापा जिल्ला सचिव हुन । उनी नेकपाका केन्द्रीय सदस्य पनि हुन ।