धरानः धरानमा बढ्दै गएको खानेपानीको समस्याको विषय आइतबार बस्ने कार्यपालिका बैठकमा एजेण्डा नबनाएको भन्दै मेयर प्रति वडा नम्बर ९ का वडाअध्यक्ष रत्न कुमार कटुवालले असंन्तुष्टि जनाएका छन् ।
आन्दोलनका क्रममा खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए अनुसार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कार्यपालिका बैठकको एजेण्डा नबनाएको भन्दै उनले असंन्तुष्टि जनाएका हुन् । उनले भने, मेयर साबले धोका दिएको जस्तो देखिएको छ, उहाँले नै धर्ना स्थगित गर्न आग्रह गर्नुभयो, हामीले मान्यौं, अहिले कार्यपालिका बैठकमै त्यो एजेण्डा नआउनु भनेको मेयरले धोका दिएको आशंका गरिएको छ ।’
कार्यपालिका बैठकमा खानेपानीको विषयले प्रवेश पाउनुपर्ने माग सहित आइतबार कटुवालले निवेदन दिने भएका छन् । बैठकमा विषयले प्रवेश पाए, उपस्थिती जनाउने, प्रवेश नपाए बहिष्कार गरेर खानेपानी संस्थान र बोर्ड विरुद्ध आन्दोलन घोषणा गर्ने उनले बताए । उनले भने, ‘बैठकमा उपस्थिती हुन्छ । तर एजेण्डा आएन भने बैठक बहिष्कार गरेर निस्कन्छु, र आन्दोलनको घोषणा गर्छौ । खानेपानी संस्थान र खानेपानी बोर्डकै विरुद्धमा आन्दोलन गर्नेछौं ।’
धरानको वडा नम्बर ९ मा पानीको अभाव बढ्दै गए पछि माघ २ गते देखि संस्थानको गेटमा धर्ना दिएका थिए । स्थानीयवासी सहित वडाअध्यक्षको नेतृत्वमा संघर्ष समितीनै बनाएका छन् । खानेपानी संस्थानले कृतिम अभाव शिर्जना गरेको उनीहरुको आरोप छ । संस्थानको कर्मचारीहरुको मिलेमतोमा पानीको व्यापार गर्न थाले पनि अभाव चुलिएको उनीहरुको भनाई छ ।
मेयर राईले माघ ९ गते समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाए पछि धर्ना स्थगित भएको थियो । कटुवालले भने, ‘बोर्डको अध्यक्ष पनि उहाँनै, जनप्रतिनिधीकै आन्दोलनलाई सम्बोधन गर्नु भको छ, जनप्रतिनिधीको अभिभावक उहाँनै, तर खानेपानीको एजेण्डानै नआउनु चै उनको बेवास्ता गरेको ठहर गरेको छ ।’ खानेपानी जस्तो समस्यालाई सम्बोधन गर्न कुनै एजेण्डानै नबनाउनु मेयरले वेवास्ता गरेको उनको आरोप छ ।
यता मेयर राईले कार्यपालिका सदस्यले कुनै विषयको बारेमा जानकारी लिन चाहे छलफलको रुपमा अघि बढ्ने बताए । उनले भने, ‘एजेण्डाको रुपमा छैन् तर जनप्रतिनिधीहरुले विषयको उठान गरे नगरप्रमुखको हैसियतले छलफलको रुपमा अघि बढ्छ ।’ उनले खानेपानीको व्यवस्था अनुसार व्यवस्थापन गर्ने प्रतिबद्धता गरेको बताउँदै परियोजनाले उत्पादन गरेको पानी संस्थान मार्फत वितरण गर्न व्यवस्थापनका लागि अघि बढेको बताए । कार्यपालिका बैठकमा एजेण्डाको रुपमा नआए पनि सदस्यहरुले कुरा उठाए विषयले प्रवेश पाउने बताए ।