इलामःएसइई परीक्षा आउन केही महिना मात्रै बाँकी छ । तर, एसइई परीक्षा नजिकिँदै गर्दा इलामका अधिकांश विद्यालयमा भने गणित र विज्ञान शिक्षकका दरबन्दी रिक्त छ । यसको प्रत्यक्ष असर परीक्षाका तयारी गरिरहेका विद्यार्थीलाई परेको छ ।
परीक्षा लेख्ने इलामका विद्यार्थीले १२ हजार अग्रिम भुक्तानी गरेर ट्युसन धाएरै परीक्षाको तयारी गरिरहेका छन् । जिल्लामा भएका विद्यालयमा गणित र विज्ञान विषयका शिक्षक नहुँदा विद्यार्थीले १२ हजार तिरेर महँगोमा ट्युसन कक्षा लिँदै परीक्षाको तयारी गरीरहेका हुन् । जिल्लाका सबै भन्दा पुरानो नगरपालिका इलाम नगरपालिका–३ मा रहेको श्री विणापाणी माध्यमिक विद्यालयमा गएको कात्तिक महिनाबाट गणित र विज्ञान विषय पढाई नभएको विद्यार्थीहरूले बताएका छन् । परीक्षा नजिकिँदै जानु, तयारी गर्नै पर्ने विषयको पढाई नै नहुनुले गर्दा महँगो रकम तिरेरै भए पनि परीक्षाको तयारी गर्न बाध्य भएको विद्यार्थीहरुको गुनासो छ । पालिकास्थित केएमटी कलेजमा १२ हजार अग्रीम भुक्तानी गरेर परीक्षा तयारीका लागि ट्युसन पढिरहेका विद्यार्थी किरण सुनुवार भन्छन्, ‘पढाई भइदिए किन घर छोड्थे र ? घरमै बसेर परीक्षाको तयारी गर्थेँ, महिनाको दुई हजार कोठा भाडा तिर्नु पर्छ ।’
उनी थप्छन्, ‘शिक्षक र पढाई भए परीक्षाको तयारी गर्न घरछेउकै विद्यालय छोड्नु नै पर्थेन, ‘अन्य ११ जना विद्यार्थी समेत मसँगै यही ट्युसन पढिरहेका छन् ।’ विद्यार्थीसँगै अभिभावकलाई पनि शिक्षक नहुँदाका पीडाले सताएको छ । तत्काल तिर्ने रकम नहुदा, छोराछोरीको पढाई नबिग्रियोस् भनेर ऋण खोजेरै भए पनि बजारमा पढ्न पठाएको अविभावकको भनाई छ । गणित र विज्ञान विषयको शिक्षक नभएकाले नौ कक्षाका विद्यार्थीले समेत यी विषयमा अध्ययन गर्न नपाएको विद्यार्थीको भनाई छ । वीणापाणीमा जम्मा २ सय १८ विद्यार्थी छन् । जसमध्ये कक्षा १० मा मात्रै ४२ जना विद्यार्थी छन् ।
यी मध्ये केही विद्यार्थी मात्रै रहेकाले विद्यालय व्यवस्थापन समितिको बैठक बसी वैकल्पिक तयारीका लागि डिसहोमबाट सञ्चालन हुने कार्यक्रमको माध्यमबाट बाँकी रहेका विद्यार्थीलाई एसइईको तयारी गर्न लगाउने छलफल भएको विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद राईले जानकारी दिए । शिक्षा विकास तथा समन्वय इकाईलाई यस विषयमा पटक–पटक जानकारी गराएको तथा पालिका प्रमुखलाई समेत करार वा राहात शिक्षक भए पनि हाम्रो विद्यालयमा पठाइदिनु प¥यो भनेर अनुरोध गरियो तर समाधानका लागि केही पहल नै नभएको प्रधानाध्यापक राईले गुनासो गरे । उनले भने,‘ गणित र विज्ञानका शिक्षक नै नभएकाले अहिले तत्काल पठाउनै नसकेको पालिकाले जानकारी दिएको छ । १४ जनाको दरबन्दी भएको यस विद्यालयमा हाल ११ जना मात्रै शिक्षक रहेको विद्यालयले जनाएको छ । यस विद्यालयमा मात्रै होइन अन्य विद्यालयमा पनि समस्या उस्तै छ । इलामको फाकफोकथुम–१ मा रहेको खाम्बाङ माध्यमिक विद्यालयमा पनि गणित विज्ञानका शिक्षक दरबन्दी रिक्त छ । यस विद्यालयमा मंसिर १ गतेबाट दरबन्दी खाली भएको विद्यालयका प्रधानाध्यापक लोकनाथ भट्टराईले बताए । एसइईका विद्यार्थीलाई निमाविका शिक्षकले अध्यापन गराएर तयारी गराईरहेको उनले जानकारी दिए ।
शिक्षक अभाव हुँदा तल्लो तहका विद्यार्थीलाई सामूहिक कक्षा सञ्चालन गर्नु पर्ने बाध्यता भएको प्रधानाध्यापक भट्टराइले जानकारी दिए । यसले गर्दा तल्लो तहका विद्यार्थीको पढाईमा बाधा पुगेको समेत उनको भनाई छ ।
जिल्लाका १० स्थानीय तहमा तीन सय ९७ सामुदायिक र एक सय १७ संस्थागत गरी पाँच सय १४ वटा विद्यालय रहेका छन् । जसमा माध्यमिक र निम्न माध्यमिक गरी १९ वटा विद्यालयमा गणित र विज्ञानको दरबन्दी खाली छ । यी मध्ये गणित र विज्ञान विषयका मात्रै ११ वटा दरवन्दी रिक्त रहेको शिक्षा विकास तथा समन्वय इकाई इलामका शाखा अधिकृत डम्बर सुवेदीले जानकारी दिए । यस्ता समस्या यथावत रहे गत शैक्षिक सत्रको भन्दा कम नतिजा आउने समस्या हुने भएको अधिकृत सुवेदीको भनाई छ । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार, प्रतिशतको हिसाबमा गत शैक्षिक सत्रमा प्रदेश नम्बर १ नेपालको तेस्रो स्थानमा आएको देखिन्छ । एसइईको नतिजामा २.४५ प्रतिशत ल्याएर १ नम्बर प्रदेश तेस्रो स्थानमा रहेको थियो ।