रंगेलीः प्रदेश १ मा प्रमुख भित्री सहरलाई प्रदेश राजधानी विराटनगर र पूर्वपश्चिम राजमार्गसंग जोड्न एकै पटक दुई वटा चारलेन सडक निर्माणले गति लिएको छ । 

पूर्वपश्चिम वैकल्पिक राजमार्गको रुपमा रंगेलीबाट विराटनगरसम्म हुलाकी सडक र विराटनगर घिनाहाघाटदेखि विराटचौक जोड्ने दुईवटा चारलेन सडक धमाधम निर्माण भईरहेको छ । दुबै सडकको लागत दुई अर्ब रुपैया रहेको छ ।
विराटनगरदेखि झापाको भद्रपुुर जोडने हुुलाकी सडक सहरीक्षेत्रमा एकसय फिट तथा सहरीक्षेत्रभन्दा बाहिर ४० फिट हुने गरी विस्तार गर्न थालिएको छ । यसको काम मोरङको पुराना सदरमुकाम रंगेलीबाट शुरु गरिएको छ । यो संघीय सरकारको आयोजना हो । यसको लागत ८१ करोड रुपैयाँको छ । पहिलो चरणमा कालिका कन्ट्रक्सन्सले रंगेलीक्षेत्रमा ४ दशमलव ९ किलोमिटर एक सय फिट र बाँकी सडक ४० फिट विस्तार हुुने गरी काम थालिएको कन्ट्रक्सन्सका प्रतिनिधि उज्वल प्रसाइँले जानकारी दिए । उनले भने, ‘तीन वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता छ तर हामी दुुई वर्षमै पूरा गर्ने गरी तीव्र गतिमा काम गरिरहेका छौं ।’’
रंगेलीको बेतौना चौकदेखि पूर्वी सिमाना मधुुवनीसम्मको साढे सात किलोमिटर सडक पहिलो चरणमा निर्माण हुने रंगेली नगरपालिकाका प्रमुुख दिलीप बगडियाले बताए । उनले भने, ‘यो वहुप्रतिक्षित सडक हो । मोरङको दक्षिणपूर्वी क्षेत्रलाई प्रदेश राजधानीसंग जोड्न सडक महत्वपूर्ण मानिएको छ । यसले विकासलाई थप गति दिने हाम्रो विश्वास छ ।’ उनले सडक फराकिलो बनाउन रंगेली बजार क्षेत्रमा सडकमा पर्ने सबै संरचना हटाई सकेको जानकारी दिए । विस्थापित भएका केही सुुकुुम्वासी परिवारलाई उचित ठाउँमा बसोबासको प्रबन्ध गरिने नगरपालिकाका प्रमुुख प्रसाशकीय अधिकृत टोमप्रसाद सुुवेदीले बताए ।
हुुलाकी सडक निर्माण आयोजनाका अनुुसार हुलाकी सडक विस्तार गर्न विराटनगर महानगरपालिका सहित, कटहरी, धनपालथान तथा गौरीगन्ज गाउँपालिका र सुुनवर्षी तथा रतुुवामाई नगरपालिकाले समेत मापदण्ड अनुुसार सडक खाली गराउन शुरु गरिसकेका छन् ।
यता, विराटनगरको घिनाघाटदेखि पूर्वपश्चिम राजमार्ग विराटचौकसम्म पुग्ने घिनाघाट–विराटचौक चार लेन सडकको काम पनि धमाधम भईरहेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकाको नेताचौकमा तीन महिनाअघि प्रदेश सरकारको गौरवको योजना मानिएको यो सडक शिलान्यास गरेका थिए । दुई दशक अघिदेखि स्थानीय व्यवस्थित र दह्रो सडकको पर्खाईमा थिए । हाल आएर निर्माणले गति लिएको हो ।
मुख्यमन्त्री राईले घिनाहाघाट–विराटचौक २२ किलोमिटर चारलेन सडक प्रदेशकै गौरवको योजना भएको बताउँछन् । उनले यो सडक तोकिएकै अवधिमा पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।
प्रदेश राजधानी विराटनगर भित्रन र बाहिरिनका लागि यो सडक वैकल्पिक मानिन्छ । थारु बहुल क्षेत्र मानिएको ग्रामथानको बीचभागबाट सडक गएको छ । पुरानो तर बारम्बार मर्मत हुने र भत्कने सडक स्थायी रुपमा ४ लेन बन्ने भएपछि स्थानीयनमा ठूलो उत्साह छ । अहिले सकडका सबै भागमा दुबैतर्फको अवरोध हटाएर बाटो फराक पार्ने काम भईरहेको छ । कतिपय भागमा नाला निर्माणको कामले समेत गति लिएको छ । २२ किलोमिटर लम्बाइ रहेको यो सडक विराटनगर प्रवेश गर्ने कोशी राजमार्गको विकल्प पनि मानिन्छ ।