धरानः गुणस्तरिय शिक्षाका लागि विदेश जानुपर्ने बाध्यतालाई निस्तेज पार्दै नेपालमा निजी क्षेत्रबाट संचालन भएका निजि विद्यालयहरुले स्तरिय शिक्षामा योगदान दिदै आएको प्रदेश नम्बर १ की सामाजिक विकाश राज्यमन्त्री जसमाया गजमेरले बताईन् ।
सुनसरीको बराहक्षेत्र स्थित हिमालय इङलिस स्कुलको २८ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी राज्यमन्त्री गजमेरले निजी क्षेत्रले शैक्षिक सुधारमा गरेको कार्यलाई प्रशंसा गरिन् । उनले निजी क्षेत्रले विद्यालयमा लगानी गरेर विदेशीने श्रमलाई स्वदेशमै रोजगारीमा परिणत गरेको बताइन् । उनले भनिन्, ‘विदेश पलायन भईरहेको शिक्षित युवाहरुलाई स्वदेशमै रोजगार दिएको छ, गुणस्तरिय शिक्षाका लागि विदेशिनु पर्ने बाध्यतालाई चिर्दै गुणस्तरिय शिक्षामा सबैको पहुँच पुर्याएको छ ।’
शिक्षामा निजी क्षेत्रको लगानीलाई सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले जनाइन् । निजी क्षेत्रले सरकार संग आफ्नो भौतिक संरचनाको सुरक्षा र स्वतन्त्र ढंगले अध्यापन गर्न पाउने पर्ने माग राखेको बताउँदै उनले सरकारले ग्यारेन्टी गर्ने बताइन् । ग्रामिण क्षेत्रमा संचालन भएको हिमालय विद्यालयले स्थानीय स्तरमा गुणस्तरिय शिक्षामा पुर्याएको योगदानको कदर गर्दै धन्यबाद ज्ञापन गरेकि थिईन् । उनले भनिन्, ‘विगत केही समय अघि सम्म गुणस्तरिय शिक्षाका लागि सरकारी विद्यालयहरुले सहिरहेका थिएनन्, त्यस्तो अवश्थामा ग्रामिण क्षेत्रमा संचालन भएको यस विद्यालयको योगदान महत्वपुर्ण रहेको छ, आगामी दिनमा अभिभावकको मनलाई जितेर विद्यालयको प्रगतिको कामना गर्दछ ।’ दलित लगायतका विपन्न समुदायलाई छात्रवृत्ति दिएर शिक्षामा पहुँच पुर्याउने वातावरण बनाउन पनि उनले आग्रह गरिन् ।
कार्यक्रममा एनप्याब्सनका प्रदेश नम्बर १ अध्यक्ष जय बहादुर श्रेष्ठले राज्यले निजी विद्यालय हेर्ने दृष्टिकोण गलत भएको गुनासो गरे । उनले निजी विद्यालयका संचालकहरुलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गर्ने गरेको उनले गुनासो गरे । उनले गुणस्तरिय शिक्षामा निजी विद्यालयको भुमिका अहंम रहेको बताउँदै अध्ययनका लागि विदेश जाने परम्परालाई तोड्दै स्थानीय स्तर मै सबैको पहँुचमा शिक्षा पु¥याउदै आएको उनको भनाई छ । सरकारको सोचमा परिवर्तन ल्याउँदै निजी क्षेत्रको लगानीमा संचालन भएका विद्यालयहरुको भौतिक संरचनाहरुको सुरक्षाका लागि सहयोग गर्न आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक आलोक श्रेष्ठको सभापतित्वमा भएको वार्षिकोत्सव कार्यक्रममा स्थानीय समाजसेवी, शिक्षाविदहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अवसरमा विद्यालयले शिक्षामा योगदान पु¥याएका ३ जना सहित विद्यालयबाट एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने ५ जना विद्यार्थीहरुलाई पनि सम्मान गरेको छ ।
कार्यक्रमकी प्रमुख अतिथी राज्यमन्त्री गजमेरले शिक्षासेवी दल बहादुर पौडेललाई मरणोपरान्त सम्मान र गणेश विरही र गंगा बहादुर थापालाई शिक्षामा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको छ । त्यसै गरि एसइइ परिक्षामा उत्कृष्ठ अंक ल्याउने मेघावी विद्यार्थी सोनु केसी, सुस्मा कट्वाल, बबिता श्रेष्ठ, रोशन राई र रुदीप श्रेष्ठलाई सम्मान गरेको हो ।
२८ वर्ष अघि कुमार श्रेष्ठले विद्यालय स्थापना गरेका थिए । उनको ७ वर्ष अघि मृत्यु भए पछि उनका छोरा आलोक श्रेष्ठले विद्यालय संचालन गर्दै आएका छन् । करिब ८ सय विद्यार्थीहरु विद्यालयमा अध्ययनरत छन् ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा विभिन्न खेल प्रतियोगिताहरु सहित सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको थियो । नृत्य प्रतियोगिता, दौड प्रतियोगिता लगायत अभिभावकहरु लाई डोरी तान प्रतियोगिता, म्युजिकल बल प्रतियोगिताहरु संचालन गरेको थियो । कार्यक्रमकी प्रमुख अतिथी, विशिष्ठ अतिथी लगायतका अन्य अतिथीहरुले प्रतियोगितामा विजयी सहभागिहरुलाई पुरस्कार वितरण गरेका थिए ।

himalaya