धनकुटाः कृषकहरुलाई व्यावसायी बनाउने उद्देश्यले तरकारी जोनको कार्यक्षेत्र भित्र रहेका कृषक समूहलाइ धनकुटाको सिंधुवामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले ५० प्रतिशत अनुदानमा कृषक समुहलाई मिनिटिलर वितरण गरेको छ ।
प्रतिगोटा ६० हजार मूल्य पर्ने डिजेल मिनिटिलर ७ एच.पी र ८० हजार मूल्य पर्ने डिजेल मिनिटिलर गरी ३२ थान मिनिटिलर वितरण सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सिंधुवाका प्रमुख देविन्द्र शाहुले बताए । मिनिटिलर प्रयोगपछि त्यसले कृषकहरुमा ल्याएको सकारात्मक परिवर्तनको आधारमा आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिन सकिने इकाई प्रमुख साहुले बताए ।
मिनिटिलर वितरण गर्दै प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको क्षेत्रमा वितरण गरिएका यस्ता औजारले कृषकहरुलाई आधुनिक खेतीतर्फ आकर्षत गर्दै श्रमिक अभावको समस्या साधान हुने बताए । उनले किसानलाई सरकारले प्रोत्साहन गरेकोले उपलब्ध गराएको प्रविधिको दुरुपयोग नगर्न आग्रह समेत गरे ।
छथरजोरपाटी गाउँपालिका–६ का वडाध्यक्ष दिलबहादुर थापाले किसानलाई यस्ता प्रविधिले फाईदा गरेको बताए । जोन व्यावस्थापन समितिका अध्यक्ष मेघबहादुर खड्काले कृषि प्रविधिको विकास र प्रयोग आजको आवश्यक्ता रहेको बताउँदै वितरण गरिएका कृषि प्रविधिको दुरुपयोग नगर्न आग्रह गरे । उक्त मेसिन दुरुपयोग गरिएको पाईएमा व्यक्ति, समुह, सहकारीलाई जो कोहीलाई पनि कारबाही समेत गरिने बताए । वितरण कार्यक्रममा अगुवा कृषक मेघेन्द्र गुरुङ, कृषक समुहका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।