धरानःधरान १६ स्थित पंचायत आधारभूत बिद्यालयमा अध्ययनरत गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई नेपाल क्रिष्टियन बाल शिक्षा संगतिले सोमबार पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
बिद्यालयमा अध्ययनरत ७१ जना बिद्यार्थीहरुलाई प्रतिनिधि सभाका सांसद जय कुमार राई, वडा नम्बर १६ का वडा अध्यक्ष दिल कुमार गिरि, धरान उपमहानगरपालिका शिक्षा महाशाखाका शाखा अधिकृत रामचन्द्र कार्की, समाजसेवी मेहरमान ह्युज, र संगतिका क्षेत्र निर्देशक आकास श्रेष्ठले सामग्री वितरण गरेका थिए ।
धनि गरिब सबैका लागि समान शिक्षा प्रदान गर्ने नीति अनुरुप बोर्डिंङ स्कुललाई बिस्थापित गरेर सरकारी विद्यालयलाई ब्यबस्थित र सुबिधा सम्पन्न बनाउन सरकार लागि परेको सांसद राईले बताए । देश र समाज बनाउन सरकारको मात्र मुख नताकी समाजका सबै पक्ष उतिकै जिम्मेवार भएर लागि पर्नु पर्नेमा सांसद राईले जोड दिए ।
विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद भट्टराईले भौतिक पूर्वाधारको कमीले बिद्यार्थी संख्या कमि भएको गुनासो गर्दै साना कक्षामा अध्ययनरत बालबालिकाको पठनपाठनलाई सहज बनाउन नेटबाट संचालन हुने टिभीको ब्यबस्था गरिदिन उनले आग्रह गरे ।
हरेक बर्ष गरिब र बिपन्न बर्गका बिद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री वितरण गर्ने योजना अनुरुप पंचायत आधारभुतमा पनि वितरण गरिएको संगतिका क्षेत्र निर्देशक आकास श्रेष्ठले बताए । कार्यक्रममा बिद्यालय संचालक समितिका सल्लाहाकार नगेन्द्र प्रसाद अधिकारी, देवाहांङ राई, सुशिल सुबेदी, संगतिका संयोजक मेगिता श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।