धरानःधरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपती नियुक्तिको विषय अहिले तातिएको छ ।प्रतिष्ठान बाहिरका विबादीत ब्यक्तिहरुलाई उपकुलपती बनाउने खेल भईरहेको भन्दै प्रतिष्ठानमा कार्यरत डाक्टर तथा कर्मचारीले सरकारलाई खबरदारी गरिरहेका छन् ।
विभिन्न सञ्चारमाध्यमहरुलेपनि उपकुलपतीका दावेदारहरुको बारेमा समाचारहरु सम्प्रेशण गरिरहेका छन् ।‘हामीले यो वा त्यो ब्यक्ति भनेका छैनौ,विबादित नभएको र नेतृत्व गर्न सक्ने ब्यक्तिलाई उपकुलपती बनाउनु पर्छ भन्ने हाम्रो माग हो’ प्रतिष्ठानका डाक्टर तथा चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष विष्णु पोख्रेलले भने ।
उनले सकेसम्म प्रतिष्ठान भित्रबाटै उपकुलपती नियुक्त गर्न आफुहरुले सरकार समक्ष माग गरेको बताए ।प्रतिष्ठानमा लामो समय काम गरेका र पुर्ण योग्यता पुगेका ब्यक्तिहरुले यो अवसर पाउनु पर्छ,तर नियुक्ती लेनदेनका आधारमा नभई योग्यता र क्षमताका आधारमा हुनुपर्छ भन्ने हाम्रो माग हो उनले भने ।
यस्ता छन् प्रतिष्ठानका उपकुलपतीका आकाक्षी
१६ जनाले दरखास्त हालेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आगामी उपकुलपतिका लागि चार जनाको नाम ‘सर्ट लिष्ट’मा परेको स्वास्थ्यमन्त्री निकट स्रोतको भनाई छ ।
डा. गुरु खनाल
कार्यबाहक उपकुलपति डा. गुरु खनाल, सोही प्रतिष्ठानमा कार्यरत डा. सञ्जिव शर्मा बाहिरबाट डा. ज्ञानेन्द्र गिरी र डा.गेहेन्द्र दाहालको नाम ‘सर्ट लिष्ट’मा परेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । उपकुलपती नियुक्तिका लागि स्वास्थ्य मन्त्री भानुभक्त ढकालको नेतृत्वमा बनेको सर्च कमिटीले तिन जनाको मात्र नाम प्रधानमन्त्री समक्ष पठाउनु पर्ने हुन्छ ।
चार जना मध्ये हाल कार्यबाहक उपकुलपतीको जिम्मेवारी पाएका गुरुप्रसाद खनाल योग्य उमेद्धारको रुपमा सबैले विष्लेशण गरेका छन् ।
प्रतिष्ठानमामा डेपुटी अस्पताल निर्देशक,अर्थोपेडिक्सको विभागिय प्रमुख रेक्टर हुदै अहिले कार्यबाहक उपकुलपतीको जिम्मेवारी सम्हालेका खनालमा प्रशासनिक अनुभब पनि भएको ब्यक्तिको रुपमा उनलाई लिइएको छ ।प्रतिष्ठानका हरेक जसो पदाधिकारी आर्थिक विबादमा परेपनि खनाल अहिले सम्म कुनै विबादमा परेका छैनन् ।उनको पक्षमा प्रतिष्ठानका कर्मचारी र डाक्टरहरुपनि देखिएका छन् ।
डा. सञ्जिव शर्मा
उपकुलपतिको दौडमा रहेका डा. शर्मा भने प्रशासनिक कामकारबाहीमा कमजोर रहेको तर अनुसन्धानमा भने कुशल मानिन्छन् । ‘शर्माले हालसम्म प्रशासनिक जिम्मेवारीका हिसाबले कुशल काम गरेको अनुभव छैन, अनुसन्धान र अध्ययनमा भने उनी कुशल मान्ने गरिएको छ ।प्रतिष्ठानमा शर्मा बिभागिय प्रमुख रहेको मेडिसीन विभागको विकास हुनमा आवश्यक भुमिका नखेलेको आरोप उनलाई लाग्ने गरेको छ ।उनी सुगर,प्रेशर र मृगौलाका विरामीको प्रिय डाक्टरको रुपमापनि चिनिदै आएका छन् ।
डा.ज्ञानेन्द्र गिरी
अर्को प्रतिस्प्रधि डा. गिरी केही समय अघिसम्म नेपाली कांग्रेसनिकट रहेर काम गरेका थिए । उनी मेडिकल क्षेत्रमा विवादको घेरामा पनि परेका थिए । कांग्रेस नजिक रहेका नोबेल मेडिकल कलेजका प्रबन्ध निर्देशक सुनिल शर्मासँग पार्टनरसीप हुँदै झगडासम्म परेका डा. हुन् गिरी ।चुनावताका मात्र उनी कांग्रेससँग केही टाढा भएका थिए । उनले हालका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई चुनाबमा आर्थिक तथा नैतिक सहयोग गरेको चर्चा सुनिदै आएको छ । नेपाली काङग्रेस निकटका गिरीले नोबेल मेडिकल कलेजका सुनिल शर्मालाई असहयोग गर्न ढकाललाई सहयोग गरेका थिए । गिरीले ढकालको क्षेत्रमा दुईवटा कोणसभालाई सम्बोधन पनि गरेका थिए । ढकाल स्वास्थ्यमन्त्री हुनसाथ गिरीले प्रतिष्ठानको उपकुलपती बनाउन प्रस्ताब गरेका थिए ।प्रतिष्ठानमा भने गिरी असहज परिस्थिती बन्ने निश्चित देखिन्छ ।
डा.गेहेन्द्र बराल
सरकारी जागिरे भए पनि असाधारण घर बिदा लिएर झापामा रहेको अस्पताल बिएन्डसीमा कार्यरत डा गेहनाथ बरालपनि उपकुलपती हुन प्रधानमन्त्रीलाई कन्भिन्स गरिरहेका छन् । डा बराल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका ११ औं तहका कर्मचारी हुन्। स्वास्थ्य सेवा ऐन अनुसार मन्त्रालय अन्तर्गतका कर्मचारीले आफ्नो जागिर अवधिभर पटक पटक गरी तीन वर्ष असाधारण घर बिदा लिन पाउँछन्। तर, त्यो बिदामा निजी अस्पतालमा भने जागिर खान पाइँदैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुनका उपसचिव पुष्कार नेपालले केही दिन अघि स्वास्थ्यखबर अनलाईनसँग कुरा गर्दै ‘असाधारण घर बिदा लिएर निजी अस्पतालमा काम गर्न नमिल्ने बताएका थिए । असाधारण बिदा लिने तर निजी अस्पतालमा गएर काम गर्नु भनेको सरकारलाई धोका दिनु हो।’
स्वास्थ्य मन्त्रालयकै अर्का एक कर्मचारी भन्छन ‘सरकारी सेवामा पद हडपेर पनि बस्ने अनि निजीमा गएर ढुक्कले काम गर्नु भनेको त बदमासी नै हो।’ उनले यस्ता कर्मचारीलाई कारबाही गर्नुपर्ने बताए।
डा बराललाई उपकुलपति बनाउने तयारी भइरहेको छ नि भन्ने जिज्ञासामा ती कर्मचारीले भने, ‘सरकारी जागिर होल्ड गरेर सरकारी अस्पतालकै गाली गर्दै बिएन्डसीको बखान गाउने व्यक्ति कसरी उपकुलपतिका लागि योग्य हुन्छ? यस्ता व्यक्तिलाई त भविष्यमा सरकारी सेवामा नै आउन नमिल्ने गरी कारबाही पो गर्नुपर्छ।’डा बरालको दरवन्दी विराटनगरस्थित कोशी अस्पतालमा रहेको छ।एक महिनाअघि बिएन्डसीले तीन सय शय्याको क्यान्सर अस्पताल सञ्चालनमा ल्याएको थियो। उक्त कार्यक्रममा सार्वजनिक रुपमा नै सञ्चारकर्मीसँग डा बरालले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको आलोचना गर्दै बिएन्डसीको बयान गरेका थिए। डा बरालको जन्मस्थान झापा हो। प्रधानमन्त्री ओली पनि झापाकै भएका कारण उपकुलपतिमा प्रधानमन्त्रीले बराललाई बनाउन खोजिरहेको स्वास्थ्य मन्त्रालय स्रोत बताउँछ।