इटहरीः मोरङको सुन्दरहरैंचा नगरपालिकामा अवस्थित हसिना सिमसारले धेरै पर्यटकको मन खिच्ने गरेको छ । यतिबेला वनभोज खाने मौसम छ । मानिसहरु हसिनाको प्राकृतिक मनरोमतामा रमाउन र मनोरंजन गर्न दैनिक पुगिरहेका छन् ।
सुनसरीको इटहरी नगरपालिकाबाट केही पूर्व लागेपछि बलिया चौक आउँछ । बलियाबाट अलि पूर्वमा पर्छ बाँसबारी चौक । यहाँबाट उत्तर करिब ४ किलोमिटर जति लागेपछि हसिना सिमसार क्षेत्र पुग्न सकिन्छ । हसिना सिमसार चारकोषे झाडीसंगै टाँस्सिएको छ । ग्रामीण परिवेश छ । यहाँका प्राकृतिक सिमसार पोखरीलाई नगरपालिकाको प्रयासमा संरक्षण पनि गरिएको छ । बाँध बाँधेर पानीको प्राकृतिक वहाबलाई व्यवस्थित पारिएको छ ।
प्राकृतिक थुम्कीहरुमा वनभोज खानेहरुको लागि व्यवस्थित ठाउँ निर्माण गरिएको छ । बिजुलीको व्यवस्था छ । पानीको लागि चापाकल गाडिएका छन् । नजिकैको पोखरीमा नौका बिहारको पनि प्रबन्ध छ । दैनिक नौका बिहार गर्न जानेहरुको घुइँचो नै लाग्ने गर्छ । सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालका अनुसार नगरपालिकाले यो क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकसित गरेको छ । ‘प्राकृतिलाई असर नगर्ने तर पर्यटकलाई आकर्षक लाग्ने गरी हामीले भौतिक पूर्वाधार पनि निर्माण गरेका छौं, ढकाल भन्छन्, ‘टायल ओछ्याएर ट्रयाक बनाउने, फलैंचा निर्माण जस्ता काम सकिन लागेका छन् ।’ उनले हसिनालाई नगरपाकालिकाले रु. २ करोड बजेट विनियोजन गरेको सुनाए ।
सिमासर क्षेत्रमै हरिण तथा खरायो संरक्षण गरेर राखिएको छ । पार्क र सेड निर्माण गर्न नगरपालिकाले काम शुरु गरेको छ । यो बाहेक यहाँको थुम्कीबाट नजिकैको गाउँको दृश्य निकै चित्ताकर्षक देखिन्छ ।