विराटनगरःस्थानीयको निकै लामो प्रतिक्षापछि अन्ततः प्रदेश १ को राजधानी विराटनगर र झापाको गौरीगञ्ज बजार जोडिएका छन् । सय वर्ष अघिसम्म विराटनगर–गौरीगन्ज सीधा व्यापार हुन्थ्यो । महेन्द्र राजमार्ग नबनुन्जेल सम्म झापा सदरमुकामसम्मको व्यापार यही मार्ग भएर हुन्थ्यो ।
हुलाकी मार्गमा पर्ने विराटनगर–गौरीगञ्ज खण्डमा बाटो मर्मत र प्रमुख दुई खोलामाथिको पुल संचालनमा आएपछि प्रदेश राजधानी र गौरीगञ्जको सिधासम्पर्क स्थापित भएको हो । योसंगै हुलाकी मार्ग हुँदै प्रदेश राजधानीबाट झापासम्मको यात्रा अवधि छोटिएको छ । अब डेढ घण्टामै विराटनगरको हाटखोलाबाट रंगेली–डायनिया–आमबाडी हुँदै गौरीगञ्ज पुग्न सकिन्छ । रंगेलीतर्फ भने हुलाकी मार्ग चार लेनको बनाइँदैछ ।
रतुवा खोला र रामचन्द्रे खेलामा पुल निर्माण भएपनि संचालनमा आएका थिएनन् । तर, एक महिना यता सवारी आवत जावतमा सहज भएको छ । गौरीगन्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले झापा र मोरङका दक्षिणी क्षेत्रका बासिन्दाको लागि हुलाकी मार्ग नै ‘लाइफलाईन’ भएको बताए । उनले भने, ‘धेरै लामो पर्खाइपछि महत्वपूर्ण पुल बनेका छन्, अब सहज हुने अवस्था आएको छ । हामी मास्तीर पूर्वपश्चिम राजमार्ग पुग्ने दुरी र अवधिमा त विराटनगर पुग्न सक्छौं ।’ श्रेष्ठले दक्षिणी भेगको विकासमा हुलाकी मार्ग महत्वपूर्ण हुने सुनाउँदै बाँकी खण्डको काममा पनि गति दिनुपर्ने सुझाव दिए ।
मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ३ र झापा गौरीगञ्ज गाउँपालिका वडा नम्बर ५ मा पर्ने रतुवा खोलामाथिको पक्की पुल सञ्चालनमा आएको छ । यसैगरी गौरीगन्जको रामचन्दे्र खोलमाथिको पुल पनि सूचारु छ । ‘अब माथिबाटै सवारी साधन चल्न थालेका छन्, खोलाले धार परिवर्तन गरी पूर्व र पश्चिमतर्फ भंगालो बनाएपछि पुल खोलाको बीचभागमा पुगेको थियो’ ,रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले भने, ‘अब सडक संचालनमा समस्या छैन । हाम्रोतिर केही भत्किएको सडक पनि मर्मत हुने क्रममा छ ।’ पुल संचालनमा आएपछि रतुवामाईको आमबाडीबाट बढीमा ४० मिनेटमा गौरीगञ्ज पुग्न सकिने राईले सुनाए । नगरपालिकाले माटो उठाएर पुलसम्म बाटो लैजान रु. ३ लाख खर्च गरेको छ ।
रतुवा खोलामा दुई सय मिटर लम्बाइको पुल भने ०६६ सालमा रु.१० करोड रुपैयाँको लागतमा निर्माण भएको हो । उता, ३७ मिटर लम्बाईको रामचन्द्रे पुल पनि संचालनमा आईसकेको छ । यो पुलले साविक खजुरगाछी र गौरीगञ्जका बासिन्दालाई राहत दिएको छ । गौरीगञ्ज बजारमै रहेको खजुरगाछी र गौरीगञ्ज जोड्ने किस्नी खोलामाथिको पुल पनि संचालनमा आई सकेको छ ।
हुलाकी सडक आयोजना इटहरी शाखाका अनुसार विराटनगर–गौरीगञ्ज खण्डका पुल निर्माणको काम सम्पन्न भई संचालनमा आएको हो । डिभिजन इन्जिनियर रमेश सिंहले भने, ‘पुल बनेर पनि निक्कै लामो समय संचालनमा नआउँदा समस्या भएको थियो अब भने स्थानीय तहको प्रयासले काम भएको छ ।’
गौरीगञ्जका अमित राजवंशीले पुल संचालनमा आई हुलाकी मार्ग सूचारु भएपछि बर्खायामको झन्झटबाट मुक्ति मिलेको बताए । उनले भने, ‘निर्माण हुँदै गरेको पक्की पुल हेर्दै हिउँदमा बाँसको पुल र बर्खामा डुङ्गा चढेर खोला तर्नुपर्ने बाध्यता थियो । अब सहज भएको छ । पुलमाथिबाटै गाडी पनि कुद्न थालिसके ।’ उनले अहिले दक्षिणी भेगबाट हुलाकी मार्ग हुँदै मोटरसाइकल र गाडीमा गौरीगञ्ज, आमबाडी, झपडताल र रंगेली हुँदै विराटनगरसम्म पुग्न बढीमा डेढ घन्टा लाग्ने गरेको बताए ।