इटहरीः काठमाडौंमा छरिएर रहेका नगरवासी र सुन्दरहरैंचा नगरपालिकाबीचका गतिविधि आदानप्रदान गर्ने र सङ्घीय सरकारसँग समन्वय गरी समाजले आफ्नो नगरपालिकामा विकासका कार्यक्रम लैजान पहल गर्ने उद्धेश्यले बुधबार सुन्दरहरैंचा– काठमाडौं सम्पर्क समाज गठन गरिएको छ ।
सुन्दरहरैंचा नगरपालिकामा स्थायी बसोबास भई विभिन्न सिलसिलामा काठमाडौंमा रहने नगरवासीको काठमाडौंमा भएको भेलाले सुन्दरहरैंचा–काठमाडौं सम्पर्क समाज गठन गरेको हो ।
सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालको अध्यक्षतामा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बुधबार भएको भेलाले समाजको गठन गरेको हो । राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीको विशेष आतिथ्यमा भएको कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठ, नगरकार्यपालिकाका सदस्य कार्यक्रममा उपस्थित थिए ।
कार्यक्रममा नगरपालिकाले गरेका कार्यक्रमका बारेमा छलफल भएको थियो । काठमाडौंमा बसोबास गरिरहेका सुन्दरहरैंचावासी व्यवसायी, सञ्चारकर्मी, अभियन्ता, पेशाकर्मीलगायत १ सय जनाको उपस्थिति थियो ।
बुधबार गठित सो समाजको संयोजकमा सुन्दरहरैंचा निवासी प्रेमप्रसाद लुइँटेल रहेका छन् । समाजको कार्यसमितिमा अन्य १० जना सदस्य रहेका छन् । काठमाडौंमा छरिएर रहेका नगरवासी र सुन्दरहरैंचा नगरपालिकाबीचका गतिविधि आदानप्रदान गर्ने र सङ्घीय सरकारसँग समन्वय गरी समाजले आफ्नो नगरपालिकामा विकासका कार्यक्रम लैजान पहल गर्ने संयोजक लुइँटेलले बताए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै लुइँटेलले काठमाडौं बस्ने सुन्दरहरैंचा नगरवासीको चाहना आगामी कार्यक्रममार्फत् नगरपालिकालाई जानकारी गराइने बताए । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।