गत वर्ष इटहरीमा सडक पार्किङको व्यवस्थापनको लागि भन्दै धमाधम पुराना सग्ला र अग्ला रुखहरू काटिए । त्यस अगाडि पनि विराटनगर–इटहरी–धरानको ६ लेन सडक बिस्तारका क्रममा हजारौँ रुखहरू ढालिए ।

यसरी राज्यले विकासका नाममा रुखहरू मार्दै गर्दा मोरङको सुन्दरहरैंचा– ४ को गोकुलम रिसोर्टका सञ्चालक राधेश्याम पौडेल भने रुखहरू सार्दै थिए । त्यो पनि कोशी कटानको बालुवा भएको मरुभूमि जस्तै क्षेत्रमा । माटोबाट रुखहरू उखेलेर बालुवामा सार्न पौडेलले ट्रक र डोजर अनि ट्याक्टर मात्रै प्रयोग गरे । रुख खनेर ट्रकमा हाले । ट्रकमा हालेर ल्याइएका रुखहरू खाल्डो खनेर डोजरले उठाएर रोपे ।

विदेशमा जस्तै रुख सार्ने मेसिन नपाएकाले यो सबै गर्नुपरेको पौडेल बताउँछन् । उनी भन्छन्, ‘विदेशमा ट्रक, टिपर जस्तै ट्रि ट्रान्सप्लान्टर पनि पाइन्छ र छिनभरमै उजाड क्षेत्र हरियाली हुन्छ । नेपालमा त्यो नभएकाले काम चलाउ गरेको हुँ ।’

विकासको बहानामा रुख काटिन्छन्, तर रोपिँदैनन्
हालसालै बाराको निजगढमा विमानस्थल बनाउन २२ लाख रुखहरू काट्नुपर्ने समाचारले धेरैलाई तनावग्रस्त बनायो । सग्ला र अग्ला रुखहरू विमानस्थल बनाउने नाममा ढाल्ने कुराले धेरैलाई चिन्ता थपेको छ । यसबाट चिन्तित कवि रमेश सायनले हालसालै एक स्टाटस फेसबुकमा पोस्ट गरे ।

उनले लेखे, ‘कम्बोडियाको साथी भन्थ्यो, ‘कम्बोडियामा अचेल राम्रो पानी पर्दैन । असाध्यै गर्मी छ । सरकारका बलिया मान्छेले सबै रुख काटे । प्रधानमन्त्री हुन साइन रुख बेचेरै धनी भएको हो । हाम्रो देखमा पनि २३ लाख रुख काटिँदैछ । सोच्नुस् अब के हुन्छ ?’ कवि नवराज पराजुलीले त यही विषयमा भावुक ‘कुकुर’ कविता लेखेर चितवनको जङ्गलका रुखहरूलाई सुनाए ।

यत्तिका रुखहरू त निजगढ विमानस्थल बनाउँदा मात्रै काटिने हुन् । यस अगाडि फास्ट ट्रयाकका नाममा पनि १ लाख ५१ हजार ७ सय ८५ रुख काटिएका थिए । धरान–हेटांैडा सडक बनाउँदा पनि हजारौँ रुखहरू काटिए । पूर्व–पश्चिम लोकमार्ग देखी पूर्वाञ्चल विश्वविद्यालय बनाउन पनि उत्तिकै रुखहरू काटिएका छन् ।

एकातिर सुकुम्बासी बस्तीको नाममा रुखहरू काटिने र अर्कोतिर विकासका नाममा रुखहरू नाशिने । नेपालमा रुखलाई दोहोरो असर छ । दैनिक हुने काठ तस्करी त सामान्य नै भयो ।

काठपातको अभावले दाम महङ्गिएको समयमा ठेकेदार, तस्कर र राज्यले विकास निर्माणका काममा रुख काट्ने राम्रो बहाना आउने गरेको छ । १ रुख काटेकोमा क्षतिपूर्तिस्वरूप २५ नयाँ बिरुवा रोप्नुपर्ने नियम छ । तर, खोइ कहाँ छन् लाखौँ रुख काटेर रोपिएका करोडौँ नयाँ बिरुवा ?

२ लाखदेखि १ करोड भारुका मेसिनले रुख सार्छन्
यसरी ‘हरियो वन नेपालको धन’ भनिने नेपालका रुखहरू विकासमा नाममा यसरी काटिन्छन् मानिलिउँ यिनीहरूको काट्नु बाहेक विकल्पै छैन । कानुन देखाएर पुराना सग्ला र अग्ला रुख काटेर नयाँ २५ बिरुवा रोप्ने नियम पनि हचुवा हो । एउटा पुरानो रुख बन्न बर्षांै लाग्छ ।
अहिले ठूला रुख मारेर साना बिरुवा रोप्नुको फाइदा यो पुस्ताले लिन सक्दैन । त्यही भएर विकासका नाममा रुख काट्न आवश्यक छैन । बरु उपलब्ध प्रविधि र सवारी साधनले रुखहरू उखेलेर कुनै पार्क, खुला क्षेत्रमा हेरचाह गर्ने नै राम्रो विकल्प हो ।
भारतले पनि यो कुरामा काम गरिरहेको मिडिया रिपोर्टले देखाउँछन् । द टेलिग्राफमा सन् २०१५ को मार्च २० मा लेखिएको एक लेखले यो कुराको पुष्टि गर्छ । जसमा ट्रि स्पेड भनिने रुखहरू सार्ने मेसिन किनेर विकास गर्ने भारतीय सरकारको योजना लेखिएको छ ।

एउटा रुख सार्ने हाइड्रोलिक ट्रि स्पेडको मूल्य १ करोड भारु भनिएको छ । अर्थात् १ करोड ६० लाख नेपाली रकममा यो मेसिन किन्न पाइन्छ । समाचारका अनुसार एउटा मेसिनले दैनिक कम्तीमा ६ वटा सम्म रुखहरू उखेलेर रोप्न सक्ने बताइएको छ । अझ नजिकनजिक भएको क्षेत्रमा झनै धेरै रोप्न सकिने देखिन्छ ।

चीनमा पनि स–साना रुखहरू उखेलेर रोप्ने २ लाखदेखि ४ लाख मूल्यसम्मका मेसिन पाइन्छन् । चीनको विश्वकै राम्रो अनलाइन सपिङ अलिबाबामा गएर ट्रि ट्रान्सप्लान्ट मेसिनको मूल्य सहजै थाहा पाउन सकिन्छ । इन्डियामार्ट डटकममा पनि यस्ता रुख सार्ने व्यवस्थित मेसिनहरूको अनलाइन दाम बुझ्न र खरिद गर्न सकिन्छ ।

\आर्बोरको नामक एक मेलबर्नमा रहेको अस्टे«लियाली कम्पनीले त हजारौँ वर्ष पुराना वर तथा पीपलका रुखहरू पनि सजिलै ओसार्न र रोप्न सकिने मेसिन बनाएको छ । युट्युबमा यो कम्पनीका मेसिनले ठूलाठूला रुखहरू सारेको हेर्न सकिन्छ ।

टिपर, ट्रकजस्तै ट्रि ट्रान्सप्लान्टर पनि अनिवार्य
नेपालमा स्तरीय ठेकेदार हुन अत्यावश्यक मेसिनमा ट्रयाक्टर सँगै टिपर, ट्रक अनि डोजर, लोडर र ग्रिन्डर आदि आवश्यक छन् । ठीक यसैगरी, अब सरकारले मापदण्ड बनाएर ठेकेदारहरूले बालुवा बोक्न टिपर, भुइँ थिच्न लोडर र बाटो बनाउन डोजर आवश्यक भएजस्तै बाटोका रुखहरू जोगाउन ट्रि ट्रान्सप्लान्टर अनिवार्य गर्नुपर्ने देखिन्छ ।

सरकारले पनि विकासमा खटिने नेपाली सेना र आफ्ना ठूला विकासका औजारहरूको भण्डारणमा ट्रि ट्रान्सप्लान्टर अनिवार्य गर्नुपर्छ । करोडौँका अन्य मेसिन खरिद गरेजस्तै एउटा रुख सार्ने मेसिन ट्रि ट्रान्सप्लान्टर खरिद गर्न सरकार, सेना र ठेकेदार कसैलाई पनि गाह्रो छैन ।

अझ, हरेक स्थानीय तहमा सडक बिस्तारमा पनि रुख मार्ने होइन सार्ने अनिवार्य नियम बनाएमा यस्तो उपकरणको व्यस्तता र व्यावसायिकता दुवै बढ्छ । रुख जोगिन्छ । हरियाली बढ्छ । देशलाई कार्बन नेगेटिभ सम्ममा लान सकिन्छ । तर, यसको लागि सरकारको इच्छाशक्ति र सर्वसाधारणको निरन्तर दबाब भने हुनुपर्छ ।

साभारः हाकाहाकी