विराटनगरः प्रदेश नं १ प्रदेशसभाको पाँचौँ अर्थात् हिउँदे अधिवेशन आजबाट शुरु भएको छ । बैठकको प्रारम्भमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए ।
सभामुख भण्डारीले प्रदेश सरकारले हालै गरेको मन्त्रिपरिषद् विस्तार सम्बन्धमा पनि पत्र पढेर सदनलाई जानकारी दिए।
बैठकमा मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार आफ्ना दायित्व पूरा गर्न जिम्मेवार एवं गम्भीर रहेको बताउँदै प्रदेश सरकार कानून निर्माणमा महत्वपूर्ण सफलता हासिल गरेको जानकारी दिए। उनले सरकारले एकपछि अर्को सफलता हासिल गरिरहेको छ भन्दै चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्म चालू खर्च १३ दशमलव छ प्रतिशत र पूँजीगत खर्च २२ दशमलव ८८ प्रतिशत रहेको जानकारी दिए । उनले प्रदेश नं १ मा पहिलोपटक स्वीस सरकारबाट रु एक अर्बको सहयोग प्राप्त भएको बताउँदै सरकारले प्रदेशको नाम सहमतिमै ल्याउने धारणा राखे।
मुख्यमन्त्री राईले यो अधिवेशनले महत्वपूर्ण उपलब्धि हासिल गर्ने चर्चा गर्दै सरकार लगानी बोर्ड गठन गरेको, परियोजना बैँक स्थापना गरी अगामी विसं २०७७ मा लगानी सम्मेलन गर्ने तयारी गरिरहेको स्पष्ट पारे। उनले सरकारले नेपाल भ्रमण वर्ष २०२० मा लक्ष्यअनुसारको पर्यटक भित्र्याउन आवश्यक तयारी गरेको चर्चा गर्दै प्रदेश नं १ मा अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धानमा आधारित दिगो र आधुनिक विकास गर्ने योजना बनाएको जानकारी दिए ।
उनले प्रदेशका १६ जना शहीद परिवारलाई जनही रु पाँच लाख दरले दिने र राष्ट्रियस्तरका खेलाडीलाई रु एक लाखदेखि तीन लाख दिने बताउँदै सरकारले चालू आर्थिक वर्षको बजेट अगामी जेठ १५ गतेभित्रमा खर्च गरिसक्ने समाथ्र्य राखेको छ भने । उनले चालू अधिवेशनको शुभकामना पनि दिए ।
नेपाली काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले राष्ट्रिय राजनीतिक विषयमा गहन छलफल हुनुपर्ने भन्दै सङ्घीयताप्रति प्रश्नचिह्न उठ्न नदिन सरकार गम्भीर बन्नुपर्छ भने । उनले प्रदेशको नाम सहमतिमै ल्याउन सुझाव पनि दिए ।
सङ्घीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादवले हाम्रो संविधान पहिचान र सामथ्र्यका आधारमा आएकाले प्रदेशको नाम पनि सोहीअनुसार हुनुपर्नेमा जोड दिए। राप्रपा संसदीय दलका नेता इन्दिरा थापाले चालू आर्थिक वर्षको बजेट समयमै सही योजनामा खर्च हुनुपर्ने भन्दै राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउन सरकारसँग माग गरे ।
सङ्घीय लोकतान्त्रिक मञ्च संसदीय दलका नेता विष्णु तुम्बाहाम्फेले समाजमा सुशासन कायम गर्न र समाजवादोन्मुख बजेट ल्याउन सरकारसँग माग गरे । उनले प्रदेशको नाम ऐतिहासिक पहिचानबाट किराँत खुम्बूवान तथा लिम्बूवान रहनुपर्ने माग गरे। प्रदेशसभाको अर्को बैठक माघ २६ गते आइतबार दिउँसो १ बजे बस्ने छ ।