ताप्लेजुङः गाउँका अधिकांस स्वास्थ्य संस्थामा ताला लाग्ने अवस्था सिर्जना भए पछि ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले करारमा २२ जना कर्मचारी नियुक्त गरि पदपुर्ति गरेको छ । शनिबार १ जना स्टाफ नर्स, ८ जना अहेव, ७ जना अनमी र ६ जना हेल्थ अशिस्टेन गरि २२ जना कर्मचारीलाई करारमा नियुक्त गरि पदपुर्ति गरिएको गाउँपालिकाले जनाएको छ ।
कर्मचारी समयोजन संगै यहाँका झण्डै ८० प्रतिशत स्वास्थ्यका कर्मचारी अन्यत्रै गए पछि अधिकांस स्वास्थ्य संस्था ताला लाग्ने अवस्थामा पुगेका थिए । कर्मचारी समायोजन पछि रिक्त दरबन्दिमा सरकारले कर्मचारी नपठाए पछि करारमा कर्मचारी नियुक्त गर्नु पर्ने बाध्यतामा पुगेको गाउँपालिका अध्यक्ष टिका गुरुङले बताए ।
“लामो समय देखि कर्मचारी छैनन्, गाउँका स्थास्थ्य संस्था कर्मचारी विहिन हुँदा नागरिक सामान्य उपचारबाट समेत बञ्चित हुने अवस्था आयो र सरकारको दायित्व अन्र्तगत रहेर करारमा कर्मचारी नियुक्त गरि पदपुर्ति गरेका हौँ”–अध्यक्ष गुरुङले भने । स्वास्थ्यका कर्मचारी नै नभए पछि सरकारले चलाएको स्वास्थ्य सम्वन्धि विभिन्न अभियान समेत प्रभावित हुने अवस्था देखिएकाले र नागरिकले समेत स्थानीय सरकार संग गुनासो गर्न थाले पछि तत्काल कर्मचारी पदपुर्तिका लागि विज्ञापन आव्हान गरि अघाडी बढेको उनको भनाई छ ।
जिल्लाका अन्य गाउँपालिकामा समेत स्वास्थ्यका कर्मचारीको अभाव देखिएको छ । समायोजन पछि सबै कर्मचारीले सुगम रोजेर हिँडे पछि जिल्लाका अधिकांस स्वास्थ्य संस्थामा पर्याप्त कर्मचार छैनन् । प्रयाप्त कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती बेहोर्दै आएकाछन् ।
करार जागिर खोज्दै जुम्लादेखि ताप्लेजुङ सम्म
शनिबार सिरिजंघा गाउँपालिकाले लिएको परिक्षामा जुम्लादेखि समेत परिक्षार्थी सहभागी भएका थिए । झण्डै ६ दिनको यात्रा गरेर जुम्लाका कबिराज अधिकारी ताप्लेजुङ सम्म आईपुगे । उनि सहित ९४ जना परिक्षामा सामेल भए । “जागिर खान निकै समयदेखि दौडधुप गरिरहेको छु, कर्मचारीको माग कहाँ भईरहेको छ भन्ने चासो दिँदै गर्दा यहाँ विज्ञापन खुलेको पाईयो र ६ दिन जति लगाएर परिक्षा दिन आएको हुँ”–अधिकारीले भने । परिक्षामा नेपागञ्ज, रौतहट, झापा, विरगञ्ज, धनुसा, महोत्तरी, सुनसरी, झापा लगायतका ठाउँबाट सहभागी थिए । “हिमाली जिल्लाको यो दुर्गम क्षेत्रमा यति धेरै संख्यामा आवेदन पर्ला भन्ने हामीले सोचेका पनि थिएनौँ, जुम्लादेखिले समेत आवेदन भरेर परिक्षा दिन परिक्षार्थीहरु आउनुभयो”–गाउँपालिकाका प्रशासकिय अधिकृत सन्तोष घिमिरेले भने । उनका अनुसार एक जना मेडिकल अधिकृत मागिएकोमा कोहिबाट आवेदन परेन । यता शनिबार नै गाउँपालिकाले १ जना रोजगार संयोजकलाई समेत नियुक्त गरेको छ । रोजगार संयोजक पदका लागि ६ जनाले आवेदन भरेका थिए ।