इलामः कानुनले मौलिक हकमा उल्लेख गरेको जातीय छुवाछुत विरुद्धको ऐनलाई कार्यान्यवन गर्न प्रदेश १ का जनप्रतिनिधीहरुले माग गरेका छन् ।
इलाममा भएको एक नम्बर प्रदेशका १४ जिल्लाका दलित जनप्रतिनिधिहरुको भेलामा सहभागि जनप्रतिनिधीहरुले ‘कानुनले मौलिक हकमा नै छुवाछुत गर्न नपाइने ऐन व्यवस्था गरेको हुँदा त्यसलाई कार्यन्वयनमा लाग्नुपर्नेमा जोड दिए । उनीहरुले अझै पनि महिला हिंसा र ग्रामिण भू–भागमा छुवाछुत जस्ता विभेद भइरहेकाले त्यस्ता कार्यंलाई निर्मूल पार्न सबैको भुमिका महत्वपुर्ण रहेको बताए ।
साढे छ हजार दलित महिलाहरु राजनीतिक क्षेत्रमा पाइला राख्न सफल बन्नु भनेको ऐतिहासिक जीत हासिल गरेको भन्दै विजेता सबै महिलाहरुको राजनीतिक यात्रा थालनी भईसकेकाले निरन्तर लागी परे सम्माननीय पदमा पुग्न अवश्य सकिने बताए । सबै जनप्रतिनिधिले समाजका लागि खास काम गरेर देखाउनु पर्ने अवश्था रहेको बताए ।
भेलाको उदघाटन इलामको ठूलो टुँडिखेलबाट नौमती बाजा सहितको ¥याली बजार परिक्रमा गरि इलामको गौतम बुद्ध सभागृहमा कोणसभामा परिणत भएको थियो । कार्यक्रमको उदघाटन प्रदेश नं. २ का प्रदेश प्रमुख तिलक परियारले गरेका थिए ।
दुई दिन चलेको कार्यक्रमको पहिलो दिन शुक्रबार नेपालमा जातपात र छुवाछूतको ऐतिहासिक पक्षका बारेमा संविधान सभाका सभासद पद्यलाल विश्वकर्माले जानकारी गराएका थिए भने योजना तर्जुमाको सवाल र दलित समुदायको भूमिका बारेमा उदयपुर जिल्लाका जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर दर्नालले चर्चा गरेका थिए । कार्यक्रममा सांस्कृतिक कार्यक्रम तथा साहित्यिक वाचनका कार्यक्रम समेत भएकोे थियो ।
दोस्रो दिन शनिबार एक नम्बर प्रदेशको दलित जनप्रतिनिधहरुले अनुभव आदानप्रदान गर्दै प्रदेश नं. १ का १४ जिल्लाको स्थानीय तहको कामकारबाहीका बारेमा समिक्षा गरेका थिए ।
संविधान, कानुन र नीति निर्माणमा दलितका सवालका बारेमा प्रतिनिधि सभा सदस्य मिन विश्वकर्माले चर्चा गरेका थिए । नेपालको दलित आन्दोलन ः विगत, वर्तमान र भविष्यका बारेमा दलित अधिकारकर्मी गणेश विश्वकर्माले जानकारी गराएका थिए भने दलित महिला ः अवसर, सम्भावना र चुनौती बारेमा सीता सुन्दास र लक्ष्मी परियारले छलफल गरेका थिए । दलित समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको सवालका बारेमा पनि जेवी विश्वकर्माले चर्चा गरेका थिए । दलित समुदायको समस्या र राज्यका बारेमा रामबहादुर राना र विनोद पहाडीबीच भएको छलफलको सहजिकरण नैन विश्वकर्माले गरेका थिए । दलित समुदायको पेशा संरक्षण र आधुनिकीकरणका बारेमा विमल धमला र हरि पोख्रेलबीच छलफलको सहजीकरण देवेन्द्र शंकरले गरेका थिए ।
दुई दिनसम्म सञ्चालन भएकोे भेलामा सामाजिक, राजनीतिक र दलित आन्दोलनका दुई अगुवालाई अभिनन्दन समेत गरिएको छ । अभिनन्दनमा प्रदेश नम्बर दुई का प्रदेश प्रमुख तिलक परियार र प्रदेश नम्बर १ का प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई मायाको चिनो दिएर अभिनन्दन गरिएको हो ।