भद्रपुरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले त्रासको कुनै गुञ्जायस नभएको हुँदा विश्वकै सुन्दर देश नेपालको भ्रमणमा आउन भारत, भूटान र बङ्गलादेशका नागरिकहरुलाई आह्वान गरेका छन् । उनले भयरहित वातावरणमा मुलुक समृद्धिको यात्रामा लम्किएको बताए । झापाको काँकडभिट्टामा आइतवारदेखि शुरु भएको छैटौँ एशियाली ग्रामीण पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले नेपाल भ्रमण वर्ष २०२० मा घुम्न आउन छिमेकी देशका पर्यटकलाई निम्तो गरेका हुन् ।

उनले प्रदेश नं। १ हिमचुचुरा, अलैँची, चिया, लालीगुराँस, अर्ना र चराहरुको राजधानी भएको चर्चा गर्दै प्रदेशको मूलढोकामा आयोजित महोत्सवले नेपालमा पाहुनाहरुलाई स्वागत छ भन्ने सन्देश प्रवाह गरेको बताए । उनले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आयोजना हुने महोत्सवहरुलाई देखावटी नबनाउन र पर्यटन प्रवद्र्धनमा सघाउने गरी लक्ष्य केन्द्रित तुल्याउन सुझावसमेत दिए ।

20200209_124454

मुख्यमन्त्री राईले देवकोटा पार्कमा रिबन काटेर महोत्सवको उद्घाटन गरेका थियो भने बाहुनडाँगीरोडमा विद्यार्थीहरुसँगै भित्तामा चित्र कोरेका थिए । उनले प्रदर्शनी कक्षहरुको अवलोकनसमेत गरे ।

झापाको मेचीनगरमा सन् २०१२ देखि एशियाली ग्रामीण पर्यटन महोत्सवको आयोजना हुँदै आएको र यसपटक ५० हजार पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष अर्जुन कार्कीले बताए। महोत्सवको उद्घाटन समारोहमा बेलायतको फोक्सटन सिटीबाट आएकी मेयर जेकी माइड, बेलायतका पूर्वकाउन्सिलर धनकिरण गुरुङ, संविधानसभा सदस्य, प्रदेशसभा सदस्य, भारतका प्रख्यात पर्यटन अभियन्ता राज बसुलगायतको उपस्थिति थियो ।

महोत्सवमा ग्रामीण पर्यटनसँग सम्बद्ध विभिन्न संस्थाका ६० वटा प्रदर्शनी कक्ष छन् । जसमा १० वटा भारतको र केही कक्ष भूटानको रहेको महोत्सवका प्रवक्ता नवराज प्रधानले जानकारी दिए । महोत्सव फागुन १ गते समापन हुने उनले बताए ।

20200209_135009-scaled 20200209_140234