धरानः मुलधारका संञ्चारमाध्यममा दलितका सवालहरु कम आउने भएकाले वैकल्पिक धारको पत्रकारिता दलित समुदायले नै शुरुवात गर्नु पर्नेमा दलित अधिकारकर्मीहरुले जोड दिएका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुनसरीको आयोजनामा सोमबार इटहरीमा भएको दलित सवालमा मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा राज्य र निजी क्षेत्रले दलित समुदायकले संचालन गरेका संचारगृहलाई उपेक्षा गरेकाले विभेद हटाउन संघर्षको थालनी गर्नु पर्ने बताए ।
कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडीले वैकल्पिक वा फरक धारको पत्रकारिताले दलित सवालहरुलाई बुलन्द गर्न सक्ने भन्दै त्यस्तो पत्रकारिता गर्न आवश्यक रहेको बताए । उनले दलितका सवालहरु मुलप्रवाहमा आउन नसक्दा अझै पनि विभेद कायमै रहेको बताए । उनले भने, ‘मुलधारका संचारमाध्यममा दलितका सवाल उठान हुन सकेको छैन्, त्यसैले अब फरक धारको पत्रकारिता गर्न जरुरी छ ।’ उनले मुलमिडियाले छाडेका विषयहरु वैकल्पीक धारबाट प्रकाशन र प्रसारण गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रदेश १ संसद उमिता बराइलीले नेपालका ६० लाख दलितलाई राज्यले अपमान गर्नु भनेको राज्यकै अपमान गरेको बताइन् । उनले पिछडिएको समुदायलाई अपमान गरेर देश समृद्धिको बाटोमा अगाडि जान नसक्ने बताउँदै भनिन्, राजनितिक विभेद, सत्तामा पुग्न विभेद हुने गरेकाले मिडियामा उठान गर्न आवश्यक छ, त्यसैले दलित समुदायको संचारमा पहुँच वृद्धि गर्न आवश्यक छ ।’
अन्तक्र्रियामा दलित अधिकारकर्मी डिबी शाहसंकर, अमर बराइली, गंगा कालिकोटेलगायतले दलित पत्रकारको व्यवसायिक सुरक्षाबारे सबैको सहयोगको आवश्यक्ता रहेको बताए । उनीहरुले दलित समुदायको सवाललाई संचारमाध्यमबाट बाहिर ल्याउन समुदायले नै प्रकाशन तथा प्रशारण केन्द्र संचालन गर्नु पर्ने बताए ।
त्यसैगरी पत्रकार पिबी दियालीले विभेदको अवस्था झन् झन जटिल बन्दै गएकोले त्यसको विरुद्ध शसक्त रुपमा कलम चलाउनु पर्ने बताए । सो अवसरमा जनप्रतिनिधि प्रमिला लकान्द्री, संघका प्रदेश १ का अध्यक्ष नैन विश्वकर्मा लगायत दलित अधिकारकर्मी, जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व राष्ट्रिय दलित पत्रकार संघ सुनसरी अध्यक्ष दिनेश गजमेरले गरेका थिए भने सहभागिलाई स्वागत शान्ति गजमेरले गरेकी थिइन् । कार्यक्रम सचिव बिनोद दर्नालले गरेका थिए ।