इलामः लोक जनजीवनमा आधारित नाटक प्रस्तुतीको लागि इलाममा ‘इलाम राष्ट्रिय नाटक महोत्सव’ शुरु भएको छ । सास्कृतिक संस्थानको आयोजना तथा इलाम नगरपालिका साहित्यक कला संगीत प्रतिष्ठान र चेतना नाट्य समुहको सहकार्यमा पाँचदिने नाटक महोत्सव शुरु भएको हो । महोत्सवको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उदघाटन गरेका थिए ।
महोत्सवमा सात प्रदेशबाट छनोट भएका आठवटा नाटक प्रदर्शन हुने छ । आइतबार चेतना नाट्य समुहले ‘थान’ शिर्षकको नाटक मञ्चन ग¥यो । सुरेश पोर्तेलको लेखन तथा निर्देशनमा मञ्चन भएको नाटकले प्रदर्शन भएको थियो । धामी झार्की लगाएर घरमा चिन्ता राख्ने चलनलाई दुरुस्तै उतारिएको नाटकमा कलाकारहरुले खारिएको नाट्यकला प्रस्तुत गरे । नाटकमा भावना मगर, प्रकाश मगर, सुसान्त चापागाईं राम आचार्य, प्रतिमा रिजाल, प्रिजन दाहाल, दिक्षित घिमिरे लगायतका कलाकाहरुको अभिनय थियो ।
सोमबार एक नम्बर प्रदेशको तर्फबाट प्रविण पुमाको लेखन र किशोर अनुुरागको निर्देशनमा ‘सुम्निमा पारुहाङ’ शिर्षकको मञ्चन भएको छ । सोमबारै दुई नम्बर प्रदेशका तर्फबाट कुन्दन थारुको लेखन र कुन्दन चौधरीको निर्देशनमा ‘करन हरलता’ प्रदर्शन भएको छ । मंगलबार बागमती प्रदेशबाट श्रीराम दाहाल लेखन र कृष्णभक्त महर्जनको निर्देशनमा ‘राजकुमारको मल्ल युद्ध’ र गण्डगी प्रदेशबाट फूलमान बलको लेखन र निशा पाख्रिनको निर्देशनमा ‘नम बुद्ध’ मञ्चन गर्ने कार्यतालिका छ । बुधबार प्रदेश नम्बर पाँच बाट कमली नाई ठाकुरको लेखन तथा सुदिप पटेलको निर्देशनमा ‘कजरी’ प्रस्तुत हुँनेछ । कर्णाली प्रदेशबाट गणेश उपाध्याको लेखन तथा निर्देशनमा ‘मेरो छैठी’ नाटक प्रदर्शन हुनेछ । बिहीबार सुदुरपश्चिमबाट पुष्पा अवस्थीको लेखन तथा झकेन्द्र बिसीको निर्देशनमा ‘लेली सज्जा’ प्रदर्शन हुने आयोजकले जानकारी दिएको छ ।