विराटनगरः प्रदेश १ का एकजना सांसदले गाँजखेती गर्न सरकारले छुट दिनुपर्ने माग गरेका छन् ।
बुधबारको संसद बैठकमा शून्य समयमा बोल्दै नेकपाका सांसद विमल कार्कीले गाँजा खेतीलाई वैधानिक बनाउन माग गरेका हुन । कार्कीले सरकारको नियन्त्रणमा खेती गरेर वैधानिक रुपमा विक्री गर्ने व्यवस्था गर्नुपर्ने बताउँदै भने, ‘‘यसबाट किसानको आर्थिक अवस्थामा सुधार आउने छ । यो कामलाई अघि बढाइयोस । कानुनले प्रतिबन्ध लगाएको छ । तर, किसानले खेती गरेकै छैन । खेती गर्नेलाई कानुनले दण्ड जरिवानको व्यवस्था गरेको छ । प्रहरीले फडाँनी गर्छन । बालीमध्ये ९९ प्रतिशत उत्पादन हुन्छ तर अवैधानिक बजारमा जोखिमपूर्ण तरिकाले विक्रीवितरण हुन्छ ।’’
उदयपुरका सांसद कार्कीले गाँजा खेतीबाट आम्दानी अत्यन्तै राम्रो हुने भएकोले आफूले सदनमार्फत गाँजा खेतीको कानुनी प्रतिबन्ध हटाइयोस भन्दै सरकारको ध्यानाकर्षण गर्नु परेको बताए । ‘‘गाँजा खेतीबाट किसानको आर्थिक अवस्थामा सुधार हुनेछ,’’ कार्कीले भने, ‘‘गाँजा खेती भएकै छ बरु यसबाट फाइदा लिन सक्नुपर्छ ।’’ प्रदेश १ को उदयपुर पनि अधिक रुपमा अवैध गाँजा खेती हुने जिल्ला हो ।




















