इटहरीः प्रदेश नं १ को स्थायी राजधानी र नाम गर्भमै रहेको अवस्थामा प्रदेश सांसदहरूले आफ्नो पक्षमा लबिङ शुरु गरेका छन् । पहाडी जिल्लाका सांसदहरूले पनि राजधानी र नामको विषयमा आफ्नो भनाइ अगाडि सार्दै आएका छन् । पहाडी जिल्लाका सांसदहरू भने विराटनगर इतरको ठाउँको पक्षमा देखिएका छन् ।

इटहरीलाई राजधानी नबनाए ज्यानको बाजी राख्न तयार भएको बताउँदै आएका सांसद सर्वध्वज साँवा आफ्नो अडान कायमै रहेको बताउँछन् । आफूले चुनावको समयमा जनतामाझ गरेको प्रतिबद्धता पूरा गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।

स्थायी राजधानी र नामङ्कनको बारेमा निर्णय गर्न नसकेको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको छ । प्रदेश सरकार पनि प्रदेशको स्थायी राजधानी र नामङ्कनको विषय टुङ्ग्याउन लागिपरेको छ । सरकारले तदारुकता देखाएसँगै सांसदहरूले पनि आफ्नो पायक पर्ने क्षेत्रमा राजधानी ल्याउने कसरत शुरु गरेका हुन् ।

केही समय अगाडि विराटनगरबाहिरका बहुमत सांसदहरूले विराटनगरबाहिर राजधानी लैजान मुख्यमन्त्री र सभामुखसमक्ष ध्यानाकर्षणपत्र बुझाएका थिए । विराटनगर भारतीय सीमा नजिक भएको र सम्पूर्ण जनताको पायक पर्ने स्थान नभएकाले इटहरी वा अन्य स्थानमा राजधानी लैजान उनीहरूको सुझाव थियो ।

मुख्यमन्त्री आफँै पनि असोज महिनाभित्र राजधानी र नामको विषय टुङ्ग्याउन लागिपरेको कारण बहस तातेको हो । इटहरी लगायत आसपासका सांसदहरूले इटहरीलाई राजधानी बनाउनुपर्छ भन्दै मुख्यमन्त्री शेरधन राईसमक्ष भेट गरिसकेका छन् । प्रदेश सरकरका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले गृहनगर गौरादहमा पत्रकारसँग कुरा गर्दै दशैंअगाडि प्रदेशको नाम र राजधानीकोे मुद्दा सकिने बताएका थिए ।

प्रदेश सांसद लीलम बस्नेत इटहरीमा प्रदेश सभा रहने विषयमा कुरा भइरहेको बताउँछन् । उनका अनुसार विराटनगरइतरका सांसदहरूको अनौपचारिक भेला इटहरीमा प्रदेश सभा राख्न सकिने निर्णयमा पुगेको छ । ‘हामी हरहमेसा इटहरीलाई राजधानी बनाउन लागिपरेका छौ । सम्पूर्ण संरचना नभए पनि व्यवस्थापिका इटहरीमा हुन्छ,’ उनी भन्छन्, ‘मुख्यमन्त्रीज्यू पनि यस विषयमा सहमत हुनुहुन्छ । प्रमुख प्रतिपक्षी काङ्ग्रेसले आफ्नो धारणा सार्वजनिक नगरेको भए पनि यस प्रस्तावमा सहमत हुन सक्ने देखिन्छ ।’

नेपाली काङ्ग्रेसकी सांसद नवोदिता चौधरी पनि मुख्य संरचनाहरू बाँडफाँड गरेर राजधानी बनाउन सकिने बताउँछिन् । काङ्ग्रेस पार्टीले आफ्नो धारणा सार्वजनिक गर्न नसकिरहेको बेला उनले राजधानीको लागि संरचना मिलाउन सकिने बताएकी हुन् ।

मुख्यमन्त्री राई आफैँ बृहत्तर विराटनगरको धारणा अगाडि सारिरहेका छन् । उता, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्की भने बृहत्तर विराटनगर भेग विषय भएको बताउँछन् । जनताले राजधानीलाई भन्दा विकासलाई बढी चासो दिने भएकाले प्रदेश सरकार विकासको बाटोमा लाग्नुपर्ने उनको भनाइ छ । बृहत्तर विराटनगरको अवधारणाले क्षेत्रीय रूपमा विभाजन ल्याउन सक्ने उनको तर्क छ ।

प्रदेश सरकार भने समानुपातिक अवधारणा अन्तर्गत राजधानी बनाउने तयारीमा लागेको छ । विराटनगरमा कार्यपालिका, इटहरीमा प्रदेश सभा र धरानमा वा धनकुटामा मुख्यमन्त्रीको कार्यालय रहने गरी प्रस्ताव लैजाने तयारी शुरु भएको बुझिएको छ ।


सामाजिक विकास मन्त्री हिक्मत कार्की दशैंअगाडि नै राजधानी र नामको विषय टुङ्गो लागिसक्ने बताउँछन् । त्यसको लागि संसदमा प्रस्ताव लैजाने तयारी भइरहेको उनको भनाइ छ । इटहरी, विराटनगर, धरान र धनकुटा आसपासका सांसदहरू आफ्नो क्षेत्रमा राजधानी राख्नको लागि कम्मर कसेर लागि परिरहेका छन् ।