इटहरीः सप्तकोशी नदीमा जेटबोट सँचालन गरिरहेका व्यवसायीहरुले असुरक्षित भएको भन्दै अनिश्चितकालका लागि बोट नचलाउने भएका छन् । उदयपुर, सुनसरी र भोजपुर क्षेत्रका स्थानीयबाटै आफुहरु समस्यामा परेको भन्दै प्रशासनको ध्यानाकर्षणका लागि बोट बन्द गर्न बाध्य हुनुपरेको व्यवसायी विमलमान श्रेष्ठले गुनासो गरे ।

उनकाअनुसार ४ कम्पनीका ६ बोट छन् । जसमा एकैपटक एक सय यात्रुलाई चढाउन सकिने क्षमता छ । तर, स्थानीय वासिन्दाले निःशुल्क चढाउनुपर्ने, रोजगारी दिनुपर्ने तथा दादाभत्ताको समेत माग हुन थालेपनि बाध्य भएर बन्द गराउनुपरेको हो ।
‘यात्रुको सुरक्षाका लागि हामीले बन्द गर्नुपर्ने अवस्था आयो ।’ श्रेष्ठले भने– ‘कति बेला कताबाट ढुँगाले हान्ने हुन टुँगै भएन ।’ उनले स्थानीय सरकारले उचित पहल नगरिदिएको गुनासो गरे । ‘प्रशासनमा समेत ध्यानाकर्षण गराएका छौँ, हेरौँ कत्तिको सहयोग हुन्छ ।’ उनले भने ।

अर्का व्यवसायी राजेन्द्र कार्कीले यस अघि पनि पटक–पटक केहि स्थानीयबाट नदीमा बोट चलाउन अवरोध सृजना भएको जानकारी दिए । तर, यो पटक भने कमिसनसमेत मागेर धाक धम्कि दिन थालेपनि बाध्य भएर सरकार गुहार्नकै लागि आन्दोलित हुनुपरेको कार्कीको भनाई छ ।
‘आज सार्वजनिक रुपमा तीनै तहका सरकारसँग सुरक्षाको ग्यारैन्टीका लागि माग गर्छौँ ।’ कार्कीले भने– ‘यदी राज्यले सहयोग गरेन भने त हाम्रो लगानी त खेर जान्छ नै सरकारले सुरुवात गरेको पर्यटन वर्षको लक्ष्यमा पनि धक्का पर्छ ।’

हालसम्म सुनसरीको चतराबाट भोजपुरको हतुवागढीको नदीतटीय क्षेत्रसम्म बोट जान्छ । सो क्षेत्रका स्थानीयको घण्टौँको दुरी २५ मिनेटमा छोटिएको छ भने बोट चढ्नकै लागि विराटनगर, इटहरी, धरान लगाएतबाट दिनुहँ पर्यटकको घुँइचो लाग्ने गरेको छ । चिसो घटेसँगै घुमफिरका लागि यहाँ आउने पर्यटक बढ्दै जाने बेलामा बोट सँचालकले असुरक्षाको कारण देखाउँदै बोट सँचालन नगरिदिएपछि यस क्षेत्रको पर्यटन व्यवसायमा धक्का लाग्ने निश्चित छ ।