विराटनगरः गुटको राजनीति छाडेर संगठन सुदृढीकरणमा लाग्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् ।
नेपाली कांग्रेस मोरङले शनिबार विराटनगरमा आयोजना गरेको दीर्घकालिन रणनीति निर्माण सम्बन्धी अन्तक्र्रियात्मक कार्यशाला गोष्ठीमा सहभागीहरूले गुटको राजनीति त्याग्न नेताहरूलाई सुझाव दिएका हुन् । कार्यक्रममा प्राध्यापक बलराम पौडेलले कांग्रेसमा नेतैपिच्छे गुट खडा गरेर कार्यकर्ता भागवण्डा गर्ने प्रबृत्तीले पार्टी कमजोर हुँदै गएको बताए । उनले भने, ‘‘ परम्परागत र कर्मकाण्डी प्रवृत्तिले पार्टी चलाएर नहुने भएकाले दीर्घकालिन योजनासाथ अघि बढ्नुपर्छ ।’’
कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, प्राध्यापक शैलेन्द्र शिवाकोटी लगायतले पार्टीभित्रै पनि एउटा नेतालाई अर्को नेताले चुनाव जित्ला भन्ने डर हुनु दुखद भएको बताए । कांग्रेसमा पद लिन लुछाचुडी गर्ने तर, पद पाएपछि जिम्मेवारी बहन नगर्ने प्रबृत्तीको अन्त्य गर्न पनि सहभागीहरूले सुझाव दिएका छन् । विभिन्न क्षेत्रका सुभेच्छुकहरूले दिएको सुझावका आधारमा भावि नीति तय गरेर अघि बढ्न कार्यक्रम आयोजना गरिएको नेपाली कांग्र्रेस मोरङका सचिव नागेश कोइरालाले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल, नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बु लगायत प्राध्यापक, कर्मचारी तथा विभिन्न क्षेत्रका विज्ञसहित ३० जना सहभागी थिए । केन्द्रीय सदस्य अर्यालले कांग्रेसका नेताहरुलाई फसाउन सरकार योजनागत रुपमा लागेको र यसको साथ अख्तियारले दिएको बताए । अर्यालले भने, ‘‘कांग्रेसले स्थापित गराएका लोकतान्त्रिक मान्यतालाई नेकपाले ध्वस्त बनाउदै लगेको छ ।’