विराटचोकः मोरङको सुन्दरहरैंचाको वडा नम्बर ७ गोठगाउँमा रहेको श्री शिवपाञ्चायन मन्दिरमा फागुन ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महापुराणको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
पुराण आयोजना स्थलमा आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जनाएअनुसार सो पुराणमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले वाचन गर्ने भएका छन् । पुराणको उपवाचकमा पण्डित वासुदेव पोखरेल रहने आयोजक समितिले जनाएको छ ।
मन्दिरको क्षेत्रफल बिस्तार गर्न थप जग्गा खरीद गर्ने, ज्येष्ठ नागरिक चौतारी निर्माण गर्ने, विवाह मण्डप निर्माण गर्ने तथा मन्दिरको चारैतिर घेराबारा गर्नुका साथै मन्दिरको भौतिक संरचना मर्मतका लागि अर्थ सङ्कलन गर्ने उद्देश्य राखी महायज्ञ हुन लागेको मूल समारोह समितिका संयोजक भक्तिप्रसाद सिटौलाले बताए ।
महायज्ञमार्फत् करीब १ करोड ५० लाख रुपैयाँ सङ्कलन हुने र त्यसमध्ये करीब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र बाँकी रहेको रकम मन्दिरको लागि जग्गा खरीदलगायतका अन्य लक्षित उद्देश्यमा खर्च गरिने उनको भनाइ छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमतकुमार कार्कीले उद्घाटन गर्ने विज्ञप्तिमा जनाइएको छ ।
समितिका महासचिव नागेश पोखरेलका अनुसार दैनिक २ हजार ५ सय भन्दा बढी भक्तजनको उपस्थिति रहने अनुमान गरिएको छ । त्यस्तै, देशविदेशमा रहेका धर्मप्रेमी भक्तजनले महापुराण आयोजक समितिका संयोजक भक्तिप्रसाद सिटौला, महासचिव नागेश पोखरेल र कोषाध्यक्ष दुर्गादेवी निरौलाको नाममा मितेरी बैंकमा रहेको खाता नम्बर ०१६११६०००४९३१३०००००१मा रकम जम्मा गर्न सकिने आर्थिक संयोजक खड्ग श्रेष्ठले जानकारी दिए ।