इटहरीः प्रदेश एक संसदमा वातावरण प्रदुषणको मुद्धाले प्रवेश पाएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद कुसुम श्रेष्ठले धरान र इटहरी बीचमा पर्ने जँगलमा दुइ शहरको फोहोर जलाउने गरिएको भन्दै त्यसले जैविक तथा वातावरणीय असर निम्तिरहेको बताइन् ।
उनले सरकारको ध्यानाकर्षण गराउँदै तुरुन्तै सो समस्या समाधानका लागि पहल गर्न माग गरेकी छिन् । सरकारका मन्त्री, सभामुख, उपसभामुख, प्रतिपक्षी दलको नेता र सँसदीय समितिका सभापती भएको जिल्लामै फोहोरको गम्भिर समस्या देखिएको भन्दै चारकोसे झाडीमा खुलमखुल्ला फोहोर फ्याक्दा मानिस एवंम जंगली जनावरलाई प्रत्यक्ष असर पुगिरहेको  श्रेष्ठकाे भनाइ छ।

उनले फोहोर व्यवस्थापनमा अब्बल रहेको गृह जिल्ला धनकुटाबा सिक्न अाग्रह गरिन् । उनले कसरी फोहोर व्यवस्थापन भइरहेको छ हेर्न जान समेत कटाक्ष गरिन् । सार्वजनिक सवारी र वाइकमा आहोर दोहोर गर्दा सासै फेर्न गाह्रो हुने गरेको भन्दै वर्षौँ देखिको उक्त समस्या समाधान नभएको देख्दा आश्चर्य लागेको तर्क गरिन् । उनले धनकुटालाई फोहोर व्यवस्थापनको अध्ययन केन्द्रको रुपमा विकास गर्न समेत सरकारसँग माग गरिन् । बजेट विनियोजन नभएपनि बास्केट फन्डबाटै धनकुटाको फोहोर प्रशोधन केन्द्रलाई अध्ययन केन्द्रको रुपमा विकास गर्नुपर्ने श्रेष्ठको धारणा थियो ।

दुइ शहरले फोहोर व्यवस्थापन केन्द्र बनाउने बताउँदै आएपनि अझैसम्म सो कार्य सम्पन्न हुन सकेको छैन ।  
जसका कारण सेउती खोला छेउनको चारकोसे छाडीमा फोहोर जलाउने गरिएको छ । दैनीक झण्डै ५० टन फोहोर जँगलमा थुपारिन्छ भने जलाउन मिल्ने फोहोरलाई आगोलगाएर नष्ट पारिन्छ । जसका कारण जँगलको बाटो हुँदै आवतजावत गर्ने यात्रुले हैरानी खेपिरहेका छन् ।