धरानः लामो समय देखि विवादित रहेको धरानमा संचालित खानेपानी परियोजना अन्तर्गतको धरान खानेपानी बोर्डमा नेपाल खानेपानी संस्थान धरान शाखाको समायोजन हुने प्रक्रियामा रहेकाले संस्थानलाई कुनै पनि महशुल नबुझाउन धरान उपमहानगरपालिकाले स्थानीयलाई आग्रह गरेको छ ।
उपमहानगरपालिकाको छैटौं नगरसभाको निर्णयहरु सार्वजनिक गर्दै संस्थानलाई बोर्ड मातहत ल्याउने निर्णय भएकाले खानेपानीको शुल्क बोर्डमा नै बुझाउन उपमहानगरपालिकाले आव्हान गरेको हो । हस्तान्तरण प्रक्रियामा रहेकोले सम्पुर्ण धरान नगरबासीहरुलाई संस्थानलाई महशुल नबुझाउन उपमहानगरपालिकाका प्रमुख तिलक राईले आव्हान गरेका छन् । उनले भने, ‘फागुन महिना भित्रमा सबै प्रक्रियाहरु पुरा हुने भएकाले अहिले कुनै पनि महशुल संस्थानलाई नबुझाइ बोर्डमा बुझाउन सबै धरानवासीमा आग्रह गर्छु ।’ यही महिना भित्रै धरान जनतालाई सहज पानी वितरण गर्ने तयारी रहेको उनले बताए । १ नम्बर प्रदेश खानेपानी डिभिजन कार्यालयका प्रमुखको संयोजकत्वमा बनेको सम्पत्ति तथा दायित्व हस्तान्तरण समितीको प्रतिवेदनको आधारमा अघि बढ्ने उनले बताए ।
धरान उपमहानगरपालिकाको नगरसभाले गौरबको आयोजनामा परेको धरान १६ स्थित जनपथको सडक निर्माणका लागि ३ करोड रुपैया विनियोजन गर्दै चालु आर्थिक वर्षमा सम्पन्न गरिसक्ने निर्णय गरेको छ । संघीय सरकारबाट प्राप्त भएको ३ करोड रुपैया पुरै जनपथ सडक निर्माण सम्पन्न गर्नका लागि विनियोजन गरिएको उपप्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् । उनका अनुसार उपनिर्वाचन अगावै अर्थमन्त्रालयमा जनपथ सडक सहित धरान ३ को जल्पा रोड र धरान १५ को आडा लाइनको सडक निर्माणको लागि प्रस्ताव गरेको थियो । करिब साढे ५ करोडको इस्टिमेट अर्थमन्त्रालयमा बुझाएको थियो । अर्थमन्त्रालयले ३ करोड बजेट विनियोजन गरिदिए पनि ३ वटै सडकमा खर्च गर्दा कुनै पनि योजनाले पुर्णता नपाउने भएकाले संघीय सरकारको पुरै बजेट जनपथमा खर्च गर्ने निर्णय भएको उनले बताइन् । उनका अनुसार जल्पा रोडका लागि १ करोड र आडा लाइनका लागि ८० लाख रुपैया नगरको बजेटबाट विनियोजन गरिएको छ । त्यसै गरि गौरबको योजना रहको विजयपुरको सडक सँगै देशिलाइनको बाटो पनि यही आर्थिक वर्षमा सम्पन्न भइसक्ने उनले बताइन् ।
शुक्रबार देखि चलेको नगरसभा शनिबार सम्पन्न भइ आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको निर्णयहरुमा वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधालाई छिटो छरितो र सहज बनाउन भौतिक पुर्वाधारहरुको व्यवस्थापनका लागि पनि बजेट विनियोजन गरिएको छ । वडागत बजेटमा वडा समितीको सिफारिसको आधारमा बजेट परिमार्जन गरिएको मेयर राईले बताए ।
छैठौँ नगरसभाले तीनकुने सुन्दर बस्ती विकास आयोजनाको प्रक्रिया पनि अघि बढाउने निर्णय गरेको छ । डिपिआर समेत बनिसकेको अवश्थामा बजेट सुनिश्चितका लागि पहल शुरु गरिएको उनको भनाई छ । त्यसै गरि धरानमा रहेका सडकको मर्मत सम्हारका लागि छुट्टै संयन्त्रको विकाश गरिने भएको छ । वर्षमा एक पटक मात्रै मर्मत सम्भार गर्दा भत्किएको सडक पुर्न फेरी अर्को वर्षनै पर्खिनु पर्ने अवश्था रहेकाले प्रत्येक ३÷३ महिनामा सडक मर्मत सम्भार गरिने गरिने योजना महाशाखा अन्तर्गत संयन्त्र बनाइने उनले बताए ।
नगरपालिकाले विवादमा रहेको कर्मचारी ऐनलाई पनि पारित गरेको छ । ऐन अनुसार कर्मचारीको एक तह बढुवा हुने भएको छ । स्थानीय कर्मचारीहरुको लामो समय देखि वृद्धिविकाश पनि नभएको, बढुवा पनि नभएको अवश्थालाई मध्यनजर गर्दै १ तह बढुवा गर्ने निर्णय गरिएको मेयर राईले बताए ।