धरानः फुलको व्यवसायीक प्रवद्र्धनका लागि धरानमा जारी पाँच दिने प्रदेश १ स्तरीय चौथो पुष्प व्यापार तथा प्रर्दशनी मेलाको अन्तिम दिन आइतबार सम्ममा करिब ७० लाख रुपैयाको कारोबार भएको छ ।
धरान १२ स्थित पब्लिक माविको मैदानमा भएको पुष्प व्यापार मेलामा इटहरी, विराटनगर देखि भेडेटार सम्मका फुलका सौखिनहरुले फुल खरिद गरेका थिए । मेलामा ३० रुपैयादेखि ५० हजारसम्मका विरुवाहरुको खरिद बिक्रि भएको थियो । मेलामा करिब ५० हजार मानिसले अवलोकन गरेको मेलाका सदस्य प्रेम पराजुलीले बताए । फ्लोरीकल्चर एसोसियशन सुनसरीको आयोजनामा भएको मेला गत माघ २० गते देखि शुरु भएको थियो ।
विगत ५ वर्ष देखि आयोजना हुँदै आएको मेलाले फुलको सौखिनहरुमा वृद्धि गराएको उनको भनाई छ । घरमा सजाउने फुलका सौखिनहरु बढेको उनले बताए । उनका अनुसार यसपाली मौसमी फुलको कारोबार बढे सँगै आलाङकारिक फुलको पनि व्यापार बढेको उनले बताए । फूलको प्रकारसँगै ड्रागन फल र सेरामिक गमला पनि पुष्प मेलाको बिशेष आकर्षण रहेको थियो । उपभोक्ताहरुले हाइब्रिड गरिएको नयाँ प्रजातिका फूलहरु मनपराएका छन् । पुष्प प्रदर्शनी तथा व्यापार मेलामा एक नं. प्रदेशका विभिन्न सहर तथा अन्य प्रदेशबाट समेत पुष्प व्यवसायीहरुले स्टल राखेका थिए । ५२ वटा स्टलमा व्यवसायीहरुले ४ सय ५० भन्दा बढी प्रजातीका फुलका विरुवाहरु विक्रि तथा प्रदर्शनीका निम्ति राखेको मेला संयोजक कल्पना लिम्बूले बताइन् ।
स्टलमा स्वदेशमा नै पहिलो पटक बनाइएको सेरामिक गमला, सिजनेवल फुलका विरुवा, आलंकारीक फुलका विरुवाहरु, विभिन्न प्रजातिका फलफुलका विरुवा, ड्रागन फ्रुटको विरुवा उपलब्ध रहेका थिए भने कौशि खेतीको प्रविधि समेत प्रदर्शनीमा राखिएको थियो ।