भद्रपुरःप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको स्नेह, माया र ममताका कारण आफू चारपटक ‘अपरेसन’ गरेर पनि बाँचेर काम गर्न सफल भइरहेको बताएका छन् ।
आइतवार गृहनगर झापाको दमकमा आयोजित कार्यक्रममा प्रम ओलीले जनताको शुभकामना र शुभेच्छाले यस देशलाई भ्रष्टाचार रोक्दै विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका निम्ति आफू बाँचेको बताए। उनले आफू ४६ वर्षदेखि रोगसँग लडिरहेको उल्लेख गर्दै रोग, प्रतिक्रियावादी र जनविरोधीसँग लड्न डर नलाग्ने बताए । आफू बिरामी भए पनि आत्मविश्वास दह्रो भएकाले अझै केही वर्ष बाँचेर नेपाली जनताको हितमा काम गर्ने उनको भनाइ थियो ।
“यस क्षेत्रका जनताप्रति कृतज्ञता र आभार व्यक्त गर्छु”, उनले भने, “तपाईंहरुकै कारण देश र जनताका निम्ति काम गर्न पाएँ, घरघरमा गएर बालबालिकालाई मेरो स्नेह सुनाइदिनोस् र ज्येष्ठ नागरिक, साथीभाइ सबैलाई मेरो नमस्कार सुनाइदिनोस् ।”
आफूले धेरै वर्षअघि दमक नगरपालिकामा चक्रपथ बनाउने सपना देखेको र आज पूरा भएको उनले बताए । उनले देशले विकासको बाटो लिएको बताउँदै आआफ्ना स्थानबाट आत्मविश्वास र उत्साहका साथ सबैलाई जुट्न आग्रह गरे।
भूटानी शरणार्थीले मुक्ति पाए
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो देश पुनर्वासले नेपाली भाषी भूटानी शरणार्थीले कष्टकर जीवनबाट मुक्ति पाएको बताएका छन् । उनले तेस्रो मुलुक पुर्नावासले भूटानी शरणार्थीलाई सुखी बनाएको बताए ।
तेस्रो देश पुनर्वासको पहल थाल्दा कतिपयले विरोध गरेको स्मरण गर्दै उनले अहिले विभिन्न सम्पन्न मुलुकमा पुगेका शरणार्थीको जीवनस्तर उक्सिएको बताए।
विभिन्न दाताले दिएको भरमा जीवन चलाउनुपर्ने बाध्यताबाट शरणार्थीले मुक्ति पाएको भन्दै उनले जीवनस्तर सहज बनेपछि र तिनका सन्तानले राम्रो शिक्षा पाएपछि आप्mनो मुलुक फर्किने प्रक्रिया आफै शुरु गर्नसक्ने अवस्था आउने बताए ।
पहिला भूटानी शरणार्थी शिविर रहेकै ठाउँमा बनाइएको मञ्चबाट सम्बोधन गर्दै उनले तेस्रो देश गएर बाँकी रहेका शरणार्थीको पनि दिगो समाधान गर्न सरकार लागिरहेको बताए ।