इटहरीः सुनसरीको सप्तकोशी नदीबाट उदयपुर, भोजपुर र धनकुटा जिल्लालाई जोड्ने जल यातायात अहिले असुरक्षाको कारण बन्द अबस्थामा छ । करोडौ लगानीमा संञ्चालनमा आएका जेटबोट संञ्चालकहरुलाई स्थानीयले दुख दिने र गुण्डागर्दी व्यवहार गरेपछि फागुन १ गतदेखि कोशी नदीमा चल्ने सम्पूर्ण जेटबोट बन्द छन् । जेटबोट बन्द भएपछि सबै भन्दा ठुलो सास्ती यात्रुहरुले भोग्नु परेको छ ।
उचित सुरक्षा र जेटबोट संञ्चालन सम्बन्धि छुटै कानुन नबनेसम्म सप्तकोशीका जेटबोट संञ्चालकहरु अहिले आन्दोलित छन् । संञ्चालकहरुले अनिश्चितकालको लागि जेटबोट बन्द गर्नुपर्ने बाध्यता रहेको बताइरहदा जेटबोट मार्फत यात्रा गर्ने यात्रुहरुले भने निकै सास्ती भोग्नु परिरहेको छ । सप्तकोशीको जल यात्रा मार्फत उदयपुर, भोजपुर र धनकुटा जिल्लासँग जोडिएका ठाँउहरु पुग्न करिब आधा घण्टा मात्रै लाग्ने गर्दथ्यो । तर अहिले जेटबोट बन्द भएपछि घण्टौ लामो यात्रा गर्न यात्रुहरु बाध्य छन् । जलयात्राले भोजपुरको हतुवागडी, आमचोक, धनकुटाको सहिद भूमि गाउँपालिका सहित भोजपुर–खोटाङका दक्षिणी भेगका स्थानीयलाई छोटो दूरीमै सुनसरीको बराहक्षेत्रसँग जोडिदिएको थियो । जेटबोट बन्द भएपछि अहिले चतराबाट चल्ने बसको जोखिम पूर्ण यात्रा गर्न थालेका छन् । कतिपय यात्रुहरु पैदल यात्रा गर्न समेत बाध्य छन् ।
जेटबोट बन्द भएको जानकारी नपाउदा काठमाडौबाट भोजपुर हिडेका एक यात्रु अलपल परेको बताउदै जेटबोट बन्द हुदा यात्रुहरुले दुख पाएको बताउँछन् । जेटबोट संञ्चालन हुँदा एकै दिनमा सरकारी कार्यालयका कामहरु सकेर फर्किने धेरै सेवाग्राही समेतलाई असर पुगेको छ । नागरिक्ता बनाउन भोजपुर हिडेका काठमाडौका हेमराज बिश्वकर्मा जेटबोट बन्द भएपछि घर फर्किन बाध्य भएको बताए । घण्टौको यात्रालाई जलयात्रा मार्फत छोट्याउन संञ्चालन भएका जोटबोट बन्द हुँदा सास्ती बेहोर्नु परेको उनको भनाई छ । बोट संञ्चालकहरुका मागलाई सम्बन्धित निकायले तत्कालै सम्बोधन गर्नुपर्ने उनको सुझाव छ ।
सप्तकोशीमा बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एण्ड रिर्सोटस प्रालि, सप्तकोशी टुरिज्म एण्ड वाटर ट्रान्सपोर्टेसन प्रालि मार्फत ६ वटा जोटबोट संञ्चालनमा थिए । सप्तकोशीमा जलयातायात सुरु भएको २ वर्ष भएपनि स्थानीयको अवरोधले लगानी नै डुब्ने अवस्था सिर्जना भएपछि जलयात्रा बन्द गर्नु परेको जेटबोट संञ्चालक बिमलमान श्रेष्ठ बताउँछन् । विभिन्न समस्याका बीच सेवा प्रवाह गरे पनि केही दिनदेखि जहाज बाँधेर रोकिदिने, धाकधम्की दिने साथै असुरक्षा महशुष भएपछि उचित समाधान र सुरक्षाको प्रत्याभूत नभएसम्म बोटहरु बन्द गर्नुपरेको उनको भनाई छ ।
यता जेटबोट बन्द भएपछि जोटबोटको आनन्द लिन आउने आन्तरिक तथा बाह्य पर्यटकहरु समेत प्रभाबित बनेका छन् । चिसो घटेसँगै घुमफिरका लागि यहाँ आउने पर्यटक बढ्दै जाने बेलामा बोट सञ्चालकले असुरक्षाको कारण देखाउँदै बोट सञ्चालन नगरिदिएपछि यस क्षेत्रको पर्यटन व्यवसायमा धक्का लाग्ने निश्चित छ ।