धरानः दलित एवं विपन्न वर्गका लागि सरकारले लागु गरेको जनता आवास कार्यक्रम अन्र्तगतको बजेट बेलका नगरपालिकामा दुरुपयोग भएको खुलासा भएको छ ।
जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माणमा चरम लापरवाही गर्दै ठेकेदार र कार्यक्रमका कर्मचारीहरुको मिलेमतोमा भ्रष्ट्रचार भएको लक्षित समुदायले आरोप लगाएका छन् । गत शनिबार बेलका नगरपालिका र इन्सेक नेपालको सहयोग तथा मानव अधिकार समुह बेलकाको आयोजनामा जनता आवास कार्यक्रम अन्र्तगत सरोकारवालाहरु सँगको अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०७३÷७४ को बजेटमा भ्रष्टाचार भएको उनीहरुको दाबी छ । भवन निर्माणमा १५ प्रतिशत मात्रै काम गरेर ८५ प्रतिशत रकम हिनामिना गरेको स्थानीय दलित समुदायले आरोप लगाएको छ । तत्कालिन सरकारले बेलका नगरपालिकामा १८ घर दलित परिवारलाई जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गर्न ६३ लाख रुपैया बजेट दिएको थियो । तर त्यसको १५ प्रतिशत मात्रै काम गरेर ८५ प्रतिशत रकम हिनामिना गरेको स्थानीय दिनेश पासवानले बताए । उनले भने, ‘जनता आवासले बनाइदिएको घर भन्दा पनि पहिलेको आफ्नै घर नचुहिने र ठिक थियो, अहिलेको घर पुरा पनि बनेको छैन्, कुनै घरहरु पानी चुहिने अवश्थाका छन् ।’ जनता आवासले बेलका नगरपालिकाको वडा नम्बर ८ र ९ का दलित बस्तीमा घर बनाइदिएको थियो । शहरी विकाश तथा भवन निर्माण समितीका प्रतिनिधी सँगको मिलेमतोमा घर बनाउने ठेकेदार द्रोण सुवेदीले रकम हिनामिना गरेको स्थानीय दलित समुदायको भनाई छ ।
घर निर्माण समितीका अध्यक्ष जित बहादुर विक र कोषाध्यक्ष ब्रहमदेव मरिकले शहरी विकाशका प्रतिनिधी र द्रोण सुवेदीले कुनै जानकारी नै नदिई बजेट निकाशा गरेको बताए । विकले भने, हामी अनपढ मान्छे, केही आउदैन्थ्यो, हामीलाई पदमा राखे पनि बजेट निकासा उनीहरुले नै गर्थे ।’ जनता आवास अन्तर्गतको वडा नम्बर ८ र ९ को सम्पुर्ण फाइल द्रोण सुवेदीले नै हराइदिएको उनले बताए ।
जनता आवास कार्यक्रममा रकम हिनामिना भएको जानकारी शहरी विकाश तथा भवन कार्यलय प्रदेश १ लाई पनि जानकारी रहेको थियो । शहरी विकाशका प्रदेश संयोजक उमेश कुमार थापाले २०७३÷७४ को बजेटमा रकमको दुरुपयोग भएको बताए । अन्तरक्रिया तथा ध्यानाकर्षण कार्यक्रम प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य अम्बिका थापाको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विशेष अतिथी बेलकाका मेयर दुर्गा कुमार थापा, उपमेयर राजकुमारी चौधरी एवं वडाअध्यक्षहरु सहित राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।