इलामः सुरक्षित सुत्केरीको सचेतना कार्यक्रम प्रभावकारी नहुँदा इलाममा नवजात शिशुको मृत्यु दर बढ्दै गएको एक तथ्याङकले देखाएको छ ।
वन हर्ट वल्र्ड वाइड नामको गैह्रसरकारी संस्थाले सार्वजनिक गरेको तथ्याङक अनुसार इलाममा एक वर्षमा ४९ जना नवजात शिशुको निधन भएको हो । एकिन कारण थाहा पाउन नसके पनि सुरक्षित सुत्केरी सचेतनाको अभाव, समय नपुगी जन्मेका शिशु, घरमानै सुत्केरी गराउँदा र नवजात शिशु स्याहार बारे जानकारी नहुँदा शिशुको निधन हुने गरेको जनाएको छ ।
संस्थाले सन् २०१९ देखि हाल सम्म गरेको अध्ययनमा जन्मेको २८ दिन भित्रमा एक वर्षको अवधिमा ४९ जना नवजात शिशुको मृत्यु भएको हो । तथ्याङक अनुसार सूर्योदय नगरपालिकामा सबै भन्दा बढी नवजात शिशुको निधन भएको पाइएको छ । सूर्योदयमा १ वर्षको अवधिमा १६ जना नवजात शिशुको निधन भएको तथ्यांकमा उल्लेख छ । इलाम नगरपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकामा पाँच÷पाँच जना नवजात शिशुको निधन भएको छ । एक वर्षको अवधिमा माईनगरपालिका, देउमाई नगरपालिका र माइजोगमाई गाउँपालिकामा चार÷चार जना नवजात शिशुको निधन भएको छ । सन्दकपुर गाउँपालिकामा तीन, माङसेबुङ गाउँपालिकामा दुई र रोङ गाउँपालिकामा एक जना नवजात शिशुुले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ । अधिकाशं शिशुको घरैमा निधन भएको पाइएको छ भने केहीले स्वास्थ्य संस्था लैजादा गर्दा ज्यान गुमाएका छन् । कतिपय शिशुको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लामा रहेका प्राथामिक स्वास्थ्य संस्थादेखि झापा र मोरङका नाम चलेका अस्पतालहरुमा समेत इलामका नवजात शिशुहरूको निधन भएको पाइएको छ ।
वन हर्ट वल्ड वाइटका अनुसार स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयम सेविका मार्फत पाएको सूचनाको आधारमा स्थलगत अध्ययन पछि वार्षिक रुपमा तथ्याङ्क सार्वजनिक गर्ने गरेको छ । वनहर्टले इलाममा मातृ शिशु स्वास्थ्यको क्षेत्रमा सन २०१८ देखि काम गर्दै आएको छ । पछिल्लो समय नवजात शिशुको निधन भएमा रिपोर्टिङ गर्ने चलन बढेकाले संख्या बढी देखिएको संस्थाका इलाम संयोजक सन्दिप गुरुङले बताए । उनले भने, ‘हामीले सूचना पाएपछि स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकालाई लगेरै घटनाको बारेमा बुझ्छौ’, ‘यसमा जिल्ला बाहिर भएका घटनाहरु पनि समावेश छन् ।’
जिल्ला स्वास्थ्य कार्यालयमा भने जिल्ला बाहिर भएका घटना अभिलेखीकरण हुँदैन । कार्यालयले स्वास्थ्य संस्थामा भएका घटना मात्रै अभिलेखीकरण गर्ने भएकाले सरकारी तथ्यांकमा नवजात शिशु निधनको संख्या कम देखिने गरेको छ । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृज कुमार दासले बाहिरी जिल्लाको स्वास्थ्य संस्थामा भएका घटना त्यहीबाट रिपोर्टिङ हुने भएकाले जिल्लामा नदेखिएको बताए । उनले भने, ‘बाहिर भएका घटना जिल्लाबाट पनि सूचीकरण गराउँदा दोहोरो पर्ने भएकाले अन्य जिल्लाबाटै स्वास्थ्य सूचना प्रणालीमा दर्ता हुने गरेको छ ।’
सुत्केरी महिला या नवजात शिशुको निधन भएको थाहा पाएपनि स्वास्थ्यकर्मीले आफ्नो कार्यक्षमता माथि प्रश्न उठ्ने डरले स्वास्थ्य कार्यालयलाई जानकारी नगराउँने पनि भेटिएको छ । स्वास्थ्य संस्था बाहिरका घटना थाहा भएपनि स्वास्थ्यकर्मीले थाहा नभएझै गर्ने गरेको पाइएको छ । घटनाको बारेमा जानकारी दिए वन हर्टले महिला स्वास्थ्य स्वयमसेविकालाई सुविधा पनि दिने गरेको छ । स्वास्थ्य कार्यालयमा करिब २५ प्रतिशतले मात्रै सुत्केरी गराउने गरेको तथ्यांक छ । गैर–सरकारी संस्थाहरूले गरेको अध्ययनमा घरमा सुत्केरी गराउनेको संख्या निकै कम छ । इलाममा एक वर्षमा दुई हजार एक सय ६७ महिला सुत्केरी भएका छन् । तीमध्ये घरैमा सुत्केरी गराउनेको संख्या एक सय २८ मात्रै छ । एक हजार आठ सय ४२ जनाले जिल्ला बाहिर गएर सुत्केरी गराएको पाइएको छ ।