धरानः विश्वकर्मा जातीको गजमेरहरुको थरगत संस्था गजमेर वंश एकता समाज केन्द्रिय कार्यालय धरानको छैठौं साधारण सभा तथा तेस्रो अधिवेसनले पदम गजमेरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।
शनिबार धरान स्थित गोर्खा किचनको सभाहलमा सम्पन्न अधिवेसनले उपाध्यक्षमा मिना गजमेर, महासचिवमा दिनेश गजमेर, सचिवमा हिरालाल गजमेर र कोषाध्यक्षमा मेघराज गजमेरलाई सर्वसम्मतले चयन गरेको हो । नयाँ कार्यसमितीको सदस्यहरुमा बराहक्षेत्रबाट दिलु गजमेर, धरानबाट भावना गजमेर, धन कुमार गजमेर, सर्वधन गजमेर, खगेन्द्र गजमेर, सुर्य बहादुर गजमेर, बराहक्षेत्रबाट शान गजमेर, दुहबीबाट शिवनन्दन गजमेर, झुम्काबाट सुर्ज कुमार गजमेर र सुमन गजमेर चयन भएका छन् ।
अधिवेसनको उदघाटन प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराईलीले गरेकि थिईन् । अधिवेसनको उदघाटन गर्दै प्रमुख अतिथी बराइलीले दलित आन्दोलनलाई बलियो बनाउन एकताको खाँचो रहेको औल्याइन् । उनले थरगत रुपमा एकता बन्दै शक्तिको रुपमा दलित आन्दोलनमा उपयोग गर्नुपर्ने उनको भनाई छ । तोडिनका लागि नभइ जोडिनका लागि थरगत एकता पनि आवश्यक रहेको उनले बताइन् । उनले भनिन्, ‘दलित समुदायलाई फुटाउनका लागि होइन्, बलियो बनाउन जोड्नका लागि थरगत एकता हुन आवश्यक छ, जसले गर्दा समुदायको शक्ति बलियो बनोस् ।’ समुदायले आर्थिक, राजनितिक, सामाजिक क्षेत्रहरुमा बलियो उपस्थिती देखाउन सके समुदायमा हुने गरेको विभेदहरु निर्मुल भएर जाने विश्वास व्यक्त गरिन् ।
समाजका अध्यक्ष परशुराम गजमेरको सभापतित्वमा भएको अधिवेसनको उदघाटन कार्यक्रममा श्री विश्वकर्मा कल्याण सेवा समितीका उपाध्यक्ष जुद्ध लोहनी, संस्थाका कानुनी सल्लाहाकार अवइन्द्र निरौला, प्रमुख सल्लाहाकार रमेश गजमेरले समुदायको क्षमता अभिवृद्धिका लागि समाजको भुमिका महत्वपुर्ण हुनुपर्ने बताए ।
विश्वकर्मा जाती भित्र पर्ने गजमेरहरुको संस्थागत विकाश सहित क्षमता अभिवृद्धि, उनीहरुको समस्या समाधानका लागि पहल गर्न २०७० सालमा डिल्लीशेर गजमेरको अध्यक्षतामा समाजको स्थापना भएको थियो ।