धरानः प्रजातन्त्रको प्रत्याभुति गर्नका लागि न्यायपालिका, प्रहरी र ब्युरोक्रेसीलाई स्वतन्त्रपुर्वक काम गर्न दिनुपर्ने पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।
७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सभापति देउवाले बिना राजनितिक हस्तक्षेप न्यायपालिका, प्रहरी, सेना, ब्युरोक्रेसीलाई काम गर्ने वातावरण नभए सम्म प्रजातन्त्रको प्रत्याभुति गर्न नसकिनेमा उनले जोड दिए । देउवाले जनताले लडेर ल्याएको प्रजातान्त्रिक अधिकार कुनै पनि वहानामा खोस्न नपाइने पनि बताए । उनले भने, ‘विना राजनीतिक हस्तक्षेप काम गर्ने वातावरण हुदैन, तबसम्म राजनीतिक आन्दोलन गरेर प्राप्त भएको अधिकारको अर्थ हुदैन, सबै पार्टीले प्रजातन्त्रको मुल मर्मलाई आत्मसात गर्नुपर्छ, सर्वभौम जनता हो, शक्तिको स्रोत जनता हो ।’
देउवाले जनताको बोल्न, लेख्न पाउने, आलोचना गर्न पाउने अधिकार सुरक्षित हुनुपर्ने पनि बताए । उनले भने, जनताले लडेर ल्याएको प्रजातान्त्रिक अधिकार कुनै पनि वहानामा खोस्न पाइन्दैन्, २००७, २०४६ साल, २०६२÷०६३ मा जनताले लडेर ल्याएको अधिकारहरु कुनै पनि वहानामा हटाउन कसैले पनि सक्दैन्, यसको विरोधमा हाम्रो पार्टी सदैव रहिरहने छ ।’
कार्यक्रममा प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराइली प्रदेश सांसद उमिता बराइलीले सबै राजनीतिक दलहरु मिलेर संविधानमा उल्लेख भएका अधिकार लाई ग्यारेण्टी गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘सुशासन, संविधान कार्यान्वयनको लागि पनि सत्ता र प्रतिपक्ष दलबीच सहकार्य, एकता आवश्यक छ, सबै मिले मात्र देश बन्छ, सहिदको सपना पुरा हुन्छ ।’ नेकपाका धरान नगर अध्यक्ष नारायण सुवदीले सम्पुर्ण राजनितिक दलहरुको एकता र सहकार्यबाट मात्रै प्रजातन्त्र सुरक्षित हुनेमा जोड दिए ।
प्रजातन्त्र दिवसको अवसरमा धरानमा प्रभातफेरी सहित भानुचौंकमा झण्डोत्तलन गरिएको थियो । प्रभातफेरीमा धरानका विभिन्न संघसंस्था, विद्यालयको उपस्थिती रहेको थियो । ¥याली धरान उपमहानगरपालिकाको परिषरमा पुगेर कोणसभाको आयोजना गरिएको थियो ।
कांग्रेसमय भन्दै नेकपा वडाध्यक्षहरुबाट बहिस्कार
७० औं प्रजातन्त्र दिवसमा धरान उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रमको प्रभात फेरी ¥यालीमा धरान उपमहानगरपालिकाका वडाध्यक्ष, नगरवासी सवैको सहभागिता रहे पनि सभामा भने नेकपा निकट जनप्रतिनिधीहरुको उपस्थिती शुन्य रहेको थियो । धरान उपमहानगरपालिकाले आयोजना गरेको प्रजातन्त्र दिवसको सभामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मात्रै सहभागि भएका थिए ।
सभाको प्रमुख अतिथि पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा रहेका सो सभाको पछिल्लो पंक्तिमा वडाध्यक्षको लागि राखिएको कुर्सी खाली देखिएको थियो । नेकपाले सभा नै बहिस्कार गरेको चर्चा चलिँरहदा नेकपाबाटै प्रदेश सभासद उमिता बराईली र नेकपाका धरान नगर अध्यक्ष नारायण सुवेदीको भने उपस्थिति रहेको थियो र उनीहरुले सभालाई सम्बोधन पनि गरे । तर विहान ¥यालीमा सहभागी नेकपाका वडाध्यक्षहरु भने सभामा उपस्थित नै भएनन् ।
कार्यक्रममा उपस्थिती नहुनुको कारण प्रजातन्त्र दिवस कांग्रेसमैत्री भएको नेकपा निकट वडाअध्यक्षहरुको भनाई छ । हुन पनि कार्यक्रममा कांग्रेसका सभापति देखि ६ जना केन्द्रिय नेताहरुको उपस्थिती रहेको थियो । एक वडाअध्यक्षले भने, ‘प्रजातन्त्र दिवसको अवसरमा धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसको कार्यक्रम भयो, त्यसैले हामी सहभागि भएनौँ ।’ एक वडाध्यक्षका अनुसार धरान उपमहानगरपालिकाले आयोजना गरेको प्रजातन्त्र दिवसको प्रभातफेरी पछिको सभाको बारेमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाइएको आपत्ति भन्दा बढी नेपाली कांग्रेसको नगर सचिवदेखि केन्द्रीय नेताहरुलाई मञ्चमा आसनग्रहण गरिएको थियो । उनले भने, ‘त्यसैले साझा कार्यक्रम हुन सकेन नेपाली कांग्रेसको भयो, हामी नेकपाका वडाध्यक्ष गएनौँ ।’
नेपाली कांग्रेसले आयोजना गरेको धन्यवाद कार्यक्रममा सहभागी हुन धरान आइपुगेका अन्य नेता र जनप्रतिनिधिहरुको बढी उपस्थिति थियो । नेपाली कांग्रेस धरान उपमहानगर समितीले धरान १७ को साकेला पार्कमा आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रमको उपस्थित सबै नेताहरुलाई आसनग्रहण गराएको थियो । धरान उपमहानगरपालिकाको नेकपा र कांग्रेस बीचको असमझदारी अहिले भने सतहीमा देखिएको छ ।