इटहरीः बिहीबार इटहरी ९ मा रहेको कोसी स्कुल प्राङ्गणमा विभिन्न स्टलहरू भरिएका थिए । भरिएका सय स्टलमा सबैभन्दा धेरैको चासो भने रोग र युद्धका स्टलमा थिए ।

हालसालै चिनमा आएको महामारी कोरोना भाइरस बारेमा विस्तृत जानकारी दिने स्टलमा थिए कक्षा सातका छात्राहरू । शरीरको तापक्रम बढ्ने, सुख्खा रुघाँखोकि लाग्ने, स्वास फेर्न गाह्रो हुने जस्ता लक्षण हुने भन्दै स्टल प्रमुख इभा यादव आगन्तुकहरुलाइ बताउँदै थिइन ।

pradeshportal.com corona virus koshi saint james

पाँच साथीहरूसँग मिलेर बनाएको स्टलमा कोरोनाका लक्षण, जोगिने तरिकासँगै कोरोनाका विभिन्न तथ्यहरू राखिएको थियो । आगन्तुकहरुले कोरोना स्टल जत्तिकै ध्यान दिएको अर्को स्टल थियो दुई सय वर्ष अगाडिको नेपाल अंग्रेज युद्धको स्टल ।

सन १८१४ देखी १८१६ सम्म भएको नालापानी युद्धको नाममा परिचित स्टलमा युद्धकै झल्को दिने दृश्य थियो । शुक्रहाङ राई, रिजल राजधामि, युनिका श्रेष्ठ लगायतका कक्षा १० का ११ विद्यार्थी मिलेर बनाएको परियोजनामा धेरैले मन पराए । स्किल क्याम्पस इटहरीबाट स्टलमा परियोजना हेर्न पुगेका प्रज्वल पराजुलीले नालापानी युद्धको मूर्त चित्रहरू विद्यार्थीले बनाएर इतिहास पढाएको टिप्पणी गरे ।

कोरोना र नालापानी मात्रै हैन कोसी उच्च माविका शिशु कक्षा देखी स्नातक तहसम्मका विद्यार्थीहरूले विभिन्न परियोजनाहरू प्रस्तुत गरेका थिए । तेस्रो कोसी बृहत् प्रदर्शनी २०७६ नाम दिइएको प्रदर्शनीमा विद्युतीय मतदान देखी तथ्याङ्क सङ्कलन जस्ता आकर्षक परियोजनाहरू समेत राखिएका थिए ।

कोसी सेन्ट जेम्स मावि र कलेजका सिइओ शशि श्रेष्ठले विद्यार्थीहरूको अतिरिक्त रचनात्मक क्रियाकलापलाई उजागर गरेर समाजसँग जोड्न प्रदर्शनी गरिएको बताए ।