इटहरीः बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कर्णाली प्रदेशको विकट जिल्ला कालिकोटमा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । समाजसेवामा सक्रिय डा.शर्माले दुर्गमका बिरामीलाई सहजताका लागि पश्चिम नेपालको बिकट जिल्लामा पुगेर निःशुल्क एम्बुलेन्स प्रदान गरेका हुन् ।
कालिकोट सदरमुकाम मान्ममा शनिबार आयोजित कार्यक्रममा स्थानीय पृथ्वी रक्तदान तथा बिर फाउण्डेशनलाई एम्बुलेन्स प्रदान गरिएको हो । सो अवसरमा डा.शर्मा र उनकी श्रीमति एवं नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले फाउण्डेशनका अध्यक्ष रमित मल्ललाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे । कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजाने कालिकोटबासीको पीडादायी अवस्था देखेर एम्बुलेन्स प्रदान गरेको प्रतिक्रिया दिए । डा.शर्माले यसअघि मोरङको पथरीशनिश्चरे, ईटहरा र पाँचथरमा पनि निःशुल्क एम्बुलेन्स प्रदान गरिसकेका छन् ।

photo 9
झापाको दमक स्थित दुम्सेमा जन्मिएर बिराटनगरलाई कर्मक्षेत्र बनाएका डा.शर्माले २०४९ सालमा कालिकोटको पंचदेवल माध्यमिक बिद्यालयबाट एसएलसी उत्रिर्ण गरेका थिए । बिपन्न परिवारमा हुर्किएका शर्माले डाक्टर बन्ने सपना पुरा गर्न छात्रबृत्तिका लागि दुर्गम जिल्ला कालिकोट गएर पढेका हुन् । गोजीमा १ हजार ५ सय बोकेर कालिकोट पुगेका उनले एसएलसीमा तत्कालिन कर्णाली अञ्चल प्रथम बन्दै छात्रबृत्तिमा पढेर डाक्टर बनेका हुन
डा.शर्माद्वारा कालिकोटमा ६ करोडको सहयोग घोषणा
आफुले एसएलसी उत्रिर्ण गरेको जिल्ला कालिकोट २६ बर्षपछि पुगेका उनले त्यहाँ एम्बुलेन्स मात्र दिएनन् कालिकोटबासीलाई करोडौंको लाभ मिल्ने घोषणा पनि गरेका छन् । एम्बुलेन्स हस्तान्तरण कार्यक्रमकै क्रममा डा.शर्माले आगामी शैक्षिक सत्रमा कालिकोटका दुई जनालाई बीडीएस र पाँच जनालाई पारामेडिकल गरी ७ जनालाई निःशुल्क पढाउँने घोषणा गरेका छन् । डा.शर्माको घोषणा अनुसार ७ जनालाई पढाउँदा करिव ६० लाख खर्च लाग्छ ।
त्यस्तै एक सय जना बिरामीको गम्भीर प्रकृतिका अप्रेशन निःशुल्क गर्ने घोषणा गरे । यो अप्रेशनबापत झण्डै पाँच करोड खर्च हुन्छ । उनले आफु पढेको पंचदेवल माध्यमिक बिद्यालयका विपन्न बिद्यार्थीलाई छात्रबृत्तिका लागि एक लाखको अक्षयकोष पनि स्थापना गरेका छन् । कालिकोटमा स्वास्थ्य उपचार र शिक्षाका लागि डा.शर्माले झण्डै ६ करोड बरावरको सहयोग गर्ने भएका हुन् ।
डा.शर्मालाई कालिकोटबासीको भव्य सम्मान
सो अवसरमा डा.शर्मा दम्पतीलाई कालिकोटबासीले भव्य सम्मान गरेका छन् । सम्मानका लागि गाउँ–गाउँबाट सयौंको संख्यामा सर्वसाधरणहरु भेला भएका थिए । उनीहरुले डा.शर्मा दम्पतीलाई फुलमाला लगाएर अभिनन्दन गरी पञ्चेवाजासहित बजारका बिभिन्न भागको परिक्रमा गराएका हुन् ।
कालिकोटलाई संझिएर ठूलो सहयोग पुर्याएको भन्दै कार्यक्रममा बोल्ने अधिकांस वक्ताले डा.शर्माको प्रशंसा गरेका थिए ।

photo 3 photo 6