विराटचोकः  सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले सुन्दरहरैंचा नगरपालिकाको कार्यालय विराटचोकबाट सलकपुरमा सर्ने तथा पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरबाट सुन्दरहरैंचाको गोठगाउँमा सर्ने बताएका छन् ।
सुन्दरहरैंचाको वडा नम्बर ७ गोठगाउँमा रहेको शिव पाञ्चायन मन्दिरमा सञ्चालन भइरहेको श्रीमद्भागवत् ज्ञानमहायज्ञलाई सम्बोधन गर्ने क्रममा उनले त्यस्तो बताएका हुन् ।
‘सुन्दरहरैंचा नगरपालिकाको कार्यालय सलकपुर सर्ने गरी नापजाँच भएर ट्रेस नक्सा तयार भएको छ, ‘उनले भने, ‘सबै काम अब चाँडै हुँदै जानेछ ।’ राजनीतिभन्दा माथि उठेर विकास निर्माणका काममा लाग्नुपर्ने उनको भनाइ थियो ।
लामो समयसम्म गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय थला परेको हुनाले उत्तरी मोरङका ९ ओटा स्थानीय तह मिलेर काम गरेको र त्यसैको परिणामस्वरुप चाँडै नै विश्वविद्यालयको कार्यालय गोठगाउँमा सर्ने उनले उल्लेख गरे ।ज्येष्ठ नागरिक चौतारी, सामुदायिक भवन तथा अन्य धार्मिक, आध्यात्मिक कार्यमा पनि नगरपालिकाले सहयोग गर्ने उनको भनाइ थियो । राजनीतिक पूर्वाग्रह राखेर आफूले कहिल्यै काम नगर्ने पनि उनले उल्लेख गरे ।
गोठगाउँ– मृगौलिया सडकलाई ४० फिट कायम गर्नासाथ सो सडक यो आर्थिक वर्षभित्रै बन्ने पनि उनले बताए । गोठगाउँबाट विश्वविद्यालय जाने बाटो पनि कालोपत्रे गर्ने क्रमको अन्तिम चरणमा पुगेको उनको भनाइ थियो । ‘तपाईंहरु यो सडकमा भएका खाल्डाको समस्याबाट मुक्त हुनुभयो,’ उनले भने, ‘तर धुलोको समस्या खेपिरहनुभएको छ । अब त्यो समस्या पनि चाँडै समाधान हुन्छ ।’
महायज्ञस्थलमा भेला भएका १ हजारभन्दा बढी धार्मिक अनुरागीको जमघटलाई सम्बोधन गर्दै उनले धार्मिक सहिष्णुता रहेको नेपाली समाजले सो परम्परालाई कायम राख्नुपर्ने बताएका छन् ।
धर्मबिना राजनीति र राजनीतिबिना धर्म दुवै असफल हुने पनि उनले बताए । अस्वस्थ राजनीतिले समाजलाई बिगार्छ । उनले भने, ‘आध्यात्मिक सोच लिएर राजनीति गर्नुपर्छ, धर्मभित्र राजनीति छि¥यो भने विकृति निम्तिन्छ ।’
धार्मिक गतिविधि हुने र व्यवस्थित तरिकाले चलेका धार्मिक संस्थालाई सधैँ सहयोग गर्ने उनको भनाइ थियो ।
शिव पाञ्चायन मन्दिरमा स्थायी पुजारीसहित अन्य कार्यको लागि नगरपालिकाले के गर्नुपर्छ त्यसको बारेमा प्रस्ताव लिएर व्यवस्थापन समिति नगरपालिकामा आए आफूले सक्दो सहयोग गर्ने पनि उनले बताए ।
लगभग २० मिनेट लामो सम्बोधनमा उनले अध्यात्मका साथै सुन्दरहरैंचामा भइरहेका र हुन लागेका विकास निर्माण र पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा चाँडै सञ्चालन हुन लागेको लगायतका विषयमा जानकारी गराएका थिए ।