इटहरीः झापामा डेढ अर्ब लगानीमा निर्माण भएको प्रदेश नम्बर १ कोे पहिलो पाँचतारे होटल मेची क्राउन आउदो बैशाखदेखि सञ्चालनमा आउने भएको छ । मेची क्राउन होटलको व्यवस्थापन नेपाली कम्पनी ‘दी पिक हस्पिटालिटी’ले लिएको छ ।
विदेशी व्यवस्थापकले मात्र पाँच तारे होटलको व्यवस्थापन गर्दै आइरहेको बेला पहिलो पटक नेपाली युवाको समूहले पाँच तारे होटल व्यवस्थापनको जिम्मेवारी लिएको हो । होटलमा पवित्रकुमार कार्की, बलराम सापकोटा, सुरेशमान श्रेष्ठलगायतको लगानी छ ।
प्रदेश नम्बर १ को झापा स्थीत धुलावारीमा मेची क्राउन होटलको ‘फाइनल टच’को काम मात्र बाँकी छ ।क्राउन प्लाजा भेगास इन्टरटेन्मेन्ट प्रालिले ८ विघा क्षेत्रफलमा डेढ अर्ब लगानीमा होटल निर्माण गरेको सञ्चालक पवित्रकुमार कार्कीले जानकारी दिए । ‘हामीले सबै काम सकिसकेका छौं, केहि सामान्य काम मात्र बाँकी छ त्यो पुरा भएपछि बैशाखदेखि सञ्चालनमा आउँछ,’ उनले भने ।
१ सय ५ कोठा सहितको मेची क्राउनमा क्यासिनो, स्वीमिङ पुल, स्पा, जिम हाउस र सुविधा सम्पन्न हल समेत छ । भारतीय पर्यटकहरुलाई लक्षित गरी निर्माण भएको सो होटल भद्रपुर विमानस्थलबाट १० मिनेटको दुरीमा मात्र छ ।

Hotel (1) 1
भारतको पश्चिम बंगाल र विहारसंग सीमा जोडिने झापाका तारे होटलका मुख्य ग्राहक भारतीय हुन् । भारतीय सिमा काँकडभिट्टा त्यहाँबाट ५ किलोमिटर टाढा छ । सोहि कारण वेस्ट बंगालका पर्यटकहरुलाई पनि आकर्षण गर्न सकिने व्यवस्थापकको भनाइ छ । यो पूर्वि नेपालको पहिलो पाँच तारे होटल हो ।
होटल म्यानेजमेन्ट क्षेत्रमा अध्ययन गरी लामो समय अनुभव बटुलेका चार जना युवाहरुको समूहले एक वर्ष अघि ‘दि पिक हस्पिटालिटी’ नामक कम्पनी खोलेका थिए । यहि समूहले पहिलो पटक पाँचतारे होटलको व्यवस्थापन सम्हालेका हुन् ।
हालसम्म नेपालका अधिकाशं स्टार होटलको व्यवस्थापन विदेशी कम्पनीले गर्दै आएका छन् । त्यसमा पनि पाँच तारे होटल व्यवस्थापन गर्ने समूह पहिलो भएको दि पिक हस्पिटालिटीका सञ्चालक यादव पाण्डेको भनाई छ । उलने भेन ‘नेपाली व्यवस्थापकहरुले पनि अवसर पाएमा पाँच तारे होटल व्यवस्थापन गर्न सक्छन भन्ने सन्देश हामीले दिन खोजेका हौँ ।’ दी पिकको यो चौथो व्यवस्थापन होटल हो ।