सुरुङ्गाःह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका लागि घर निर्माण गरिदिएको छ ।
गाउँपालिकाका अध्यक्ष जयनारायण साहले गाउँपालिकासँगको साझेदारीमा घर निर्माण गरी हस्तान्तरण गरिएकोे जानकारी दिए । झापा गाउँपालिका–१ लसुनाका सन्थाल समुदायका लागि प्रतिघर रु दुई लाख २० हजार खर्च गर्दै घर निर्माण गरिएको सहाराका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए । ह्याविट्याड फर ह्युमानेटी नेपालको ७५ हजारसहित झापा गाउँपालिकाको ७५ हजार र घर धनीको जनश्रमदान तथा सहाराको प्राविधिक टोलीले घर निर्माण गरेको उनले जानकारी दिए।
विपन्न समुदायले नयाँ घरमा बस्न पाएसँगै खुशी व्यक्त गरेका छन् । वर्षौंदेखि फुसको छानो र बाँसको टाटीमा माटोले लिपेर बस्न हुने मात्रको घरमा बस्दै आएका लसुनावासीका लागि सहकारीको अगुवाइमा भुई ढलान, पिल्लर, उपचार गरेर बलियो बनाएको बाँस र जस्तापात प्रयोग गर्दै घर निर्माण गरिएको छ ।
सो गाउँपालिकाले सहारासँगको सहकार्यमा अहिले थप १०० घर निर्माण शुरु भएको जनाएको छ । गत वर्ष पनि ९० वटा घर निर्माण भएको अध्यक्ष साहाले जानकारी दिए। योसँगै सहारा नेपालले झापा र मोरङ जिल्लाका विभिन्न स्थानीय तहमा ६०० वटा घर निर्माण गर्ने काम भइरहेको कार्यकारी निर्देशक गिरीले बताए । आगामी वर्ष एक हजार २०० घर निर्माण गरेर समुदायलाई हस्तान्तरण गर्ने सहकारीको लक्ष्य रहेको जनाइएको छ ।
साँघुरो, होचो, फुसको छानो अनि बाँसको बेरा भएको घरबाट अहिले झापाका विपन्न समुदायका नागरिक चिटिक्क टिनको छानो भएको तर सिमेन्टको खम्बा ठड्याएको तीन कोठा घरमा बस्न पाउँदा दङ्ग छन् ।