विराटनगरः पार्टीको टिकट पाएर पालिकामा मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष जितेका जनप्रतिनिधिको व्यवहार दुई वर्षमै फेरिएको भन्दै टिकाटिप्पणी हुने गरेको छ । तर, सोमबार भने नेपाली कांग्रेसबाट निर्वाचित भई पालिकाहरुमा बागडोर सम्हालिरहेका जनप्रतिनिधि र पार्टीका प्रतिनिधिबीच विराटनगरमा घनीभूत छलफल भएको छ । मोरङ कांग्रेसले आयोजना गरेको नेपाली कांगे्रस र जनप्रतिनिधिबीच एक दिने अन्तरसंवाद कार्यक्रममा पार्टी प्रतिनिधिले आफ्नो गुनासो खुलेर राखेका छन् । सहभागी धेरैको प्रश्न थियो ‘के जनप्रतिनिधिहरुले अर्कै ग्रहमा चुनाव जितेको हो ?’’
पार्टीबाट टिकट पाएर विजयी भएपछि पार्टीतर्फ नहेरेको,हिजो आफूलाई जिताउन लाग्नेहरुलाई वास्ता नगरेको र फेरि पार्टी नै चाँहिदैन जस्तो व्यवहार जनप्रतिनिधिबाट हुने गरेको सहभागीको गुनासो थियो । सहभागीले कांग्रेसलाई ‘मासबेस पार्टी’ भन्ने गरिएपनि नीतिविहीन, अनुशासनको कमी र निर्देशन पालना नगर्ने प्रवृत्ति बढेकोले यसलाई नियन्त्रण गर्नसमेत सुझाव दिएका छन् ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ५ का कांग्रेस क्षेत्रीय सभापति दिपिल पोखरेलले हिजो टिकट दिने पार्टीलाई नै वास्ता नगर्दा जनप्रतिनिधिसंग जनता र सिंगो पार्टीपंक्तिको गुनासो चुलिएको बताए । भने,‘‘केही जनप्रतिनिधिमा म मेरै कारणले जितेको हुँ भन्ने अहम छ भने पार्टी नेतृत्वमा पनि एक पटक जित्ने बित्तिकै ठूलो हुने भन्ने भावना छ । यसलाई दुबै पक्षले त्याग्नुपर्छ ।’’ उनले पार्टी र जनप्रतिनिधिबीच तालमेल बढाउन जरुरी रहेको सुझाए ।
नेपाली कांग्रेस विराटनगरका सचिव प्रकाश दाहालले निर्वाचित निकायको काम कारवाहीलाई अनुगमन गर्न पार्टीले छुटटै समयन्त्र बनाउनु पर्ने सुझाव दिंदै भने,‘‘यसबाट एक आपसमा सम्बन्ध प्रगाढ हुनुकासाथै भएका कमीकमजोरी पत्ता लगाएर सँच्चिन पनि अवसर मिल्छ ।’’ दाहालले जनप्रतिनिधिलाई हुने गरेका बाधा र कठिनाईको विषयमा पनि पार्टीले चासो राखेर सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए । नेपाल तरुण दल विराटनगरमा सभापति सन्तोष न्यौपानेले जनप्रतिनिधिले आफ्नो कामबाट जनता र हिजो आफूलाई त्यो स्थानमा पु¥याउने पार्टीपंक्ति तथा कार्यकर्तालाई समेत भुल्न नहुने सुझाव दिए ।
नेपाली कांग्रेस विराटनगरका कार्यवाहक सभापति अरुणकुमार न्यौपानेले स्थानीय तहमा धेरैजसो जितेर जानेहरु युवा भएकोले उनीहरुले त्यहीअनुरुपको कार्यक्रम ल्याएर जनस्तरमा जानुपर्ने बताए । भने,‘‘अब बाँकी अढाई वर्ष कसरी काम गर्ने भन्ने स्पष्ट खाका बनाउनु पर्छ । पार्टीसंग सुझाव लिंदा पनि हुन्छ । फेरि जनतासंग जाँदा के दियौ भनेर प्रश्न उठ्ने भएकोले त्यसबारे सचेत हुन जरुरी छ ।’’ न्यौपानेले आउँदो चुनावको एजेन्डा नै जनप्रतिनिधिको कामको आधारमा पार्टीले तय गर्ने भएकोले अति नै सुझबुझ ढंगले काम गर्नुपर्ने बताए ।
मोरङ निर्वाचन क्षेत्र नम्बर १ क का क्षेत्रीय सचिव टंकनाथ दाहालले जनप्रतिनिधि भएपछि धेरैको व्यवहार फेरिएको बताए । ‘‘कुर्सी पाएपछि कतिपयको व्यवहारमा परिवर्तन आएको र अर्कै ग्रहको हो कि वा उतैबाट चुनाव जितेको जस्तो स्वभाव देखिन्छ,’’ दाहालले भने,‘‘जनता र आफूलाई साथ दिने हिजोका सहकर्मीलाई समेत भुलेर कुर्सीमात्र प्यारो जस्तो देखिएको छ ।’’ उनले कांग्रेसबाट जितेका जनप्रतिनिधिहरु सुविधाभोगी भन्दा पनि जनसेवक हुनुपर्ने सुझाव दिए ।
उर्लाबारी नगरपालिकाका प्रमुख तथा मोरङ क्षेत्र नम्बर १ का कांग्रेस क्षेत्रीय सभापति खड्ग फागोले वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह आदि नेताहरुले बनाएको कांग्रेसको पात झरेर अब बोक्रामात्र रहेजस्तो देखिएको टिप्पणी गरे । भने,‘‘गुट, उपगुट र समूहले कांग्रेस कमजोर बनेको छ । अब त जातीय आधारमा समेत समूह निर्माण हुन थालेको छ । यसबाट मुक्त नहुने हो भने कांग्रेसको बोक्रामात्र रहनेछ ।’’ फागोले कांग्रेसलाई पुर्नजीवन दिने हो भने जनतासम्म पुग्नुपर्ने र भ्रातृसंगठनलाई चलायमान गराउनु पर्ने सुझाव दिए ।
बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले कांग्रेसबाट निर्वाचित बनेका ठाउँमा नेकपा सरकारले असहयोग गर्ने अधिकृत पठाउने गरेको गुनासो गर्दै भने,‘‘काम गर्न रोक्ने, अवरोध गर्ने र असफल बनाउने नीतिअनुसार त्यस्तै कर्मचारी पठाउने गरिएको छ । उनीहरु पार्टीकै भक्त हुने गरेका छन् ।’’ माझीले जनताले करको विषयमा धेरै नै गुनासो गरेकोले आफ्नो पालिकामा समेत त्यस विषयमा पुर्नविचार गर्ने योजना रहेको सुनाए ।

NC Morang Chalfal (2)
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध प्रगाढ हुन निरन्तर छलफल जरुरी भएको सुनाए । भने,‘‘हामीले राम्रा काम गरेका छौं तर त्यसको प्रचार पार्टीभित्रबाट समेत हुनुपर्छ । अरुले राम्रा विषयलाई पनि तोडमोड गरिदिने गरेका छन् ।’’ पराजुलीले कांग्रेसले जितेका पालिकाहरुमा निक्कै राम्रो काम भएको बताए ।
कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले विकासमा कुनै पनि कमजोरी नगर्न र जनताको भवनाको कदर गर्न पालिका प्रमुख तथा जनप्रतिनिधिहरुलाई सुझाव दिएकी थिइन । भनिन्,‘‘यस्ता छलफल पहिल्यै हुनुपर्दथ्यो तर ढिलो भएपनि राम्रो सुरुवात भएको छ । अब एक आपसका कुरालाई बारम्बार छलफलमार्फत उजागर गर्नुपर्छ ।’’ संग्रौलाले अहिले नेकपाको सरकारले कांग्रेसका नेताहरुलाई विभिन्न मुद्दा लगाएर फसाउने षडयन्त्र र तानाबाना बुनिरहेको पनि बताइन । विजयकुमार गच्छदारलाई गरिएको व्यवहार त्यसकै उदाहरण भएको संग्रौलाको भनाइ थियो ।
मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बूले पार्टी र जनप्रतिनिधिबीच सम्बन्ध टुटे जस्तो, केही अभाव भए जस्तो र समन्वय नभए जस्तो देखिएकोले नै कार्यक्रम आयोजना गरिएको बताए । भने,‘‘यसले एक आपसमा भएका कमजोरी उजागर गर्न र मनको तुष मेटाएर अघि बढ्नु पर्छ ।’’ मोरङ कांग्रेसले पहिलो पटक समीक्षत्मक रुपमा आफ्ना जनप्रतिनिधिसंग छलफल चलाएको हा ।