विराटनगरः नयाँ निर्माण भएका सडकले विराटनगरको मुहार फेरिदिएको छ ।
सहरका भित्री भागमासमेत सडक निर्माणले पूर्णता पाएका छन् । योसंगै हिलो र धुलोबाट महानगरवासीले खेप्नु पर्ने सास्ती हटेको छ । हिउँदमा धुलो र बर्खामा हिलोका कारण सडकहरु हिंडिनसक्नु थिए । अहिले भने फराकिला र चिल्ला भएका छन् ।
विराटनगर महानगरपालिका कार्यालयका अनुसार मुख्य र भित्री सडकको कामसमेत लगभग पूरा भईसकेको अवस्था छ । ढल, नाला र सडक निर्माणलाई एकै पटक प्राथमिकतासाथ थालिएको बताउँदै महानगरका प्रमुख भीम पराजुलीले भने,‘‘नयाँ निर्माणले विराटनगरको कायाकल्प नै बद्लिएको छ । अब नयाँ विराटनगर निर्माण भएको छ भन्दा फरक पर्दैन् ।’’ निर्माण भएका कालोपत्रे सडक नयाँ मापदण्डअनुसार फराकिलो र टिकाउसमेत भएको पराजुलीले दाबी गरेका छन् ।
सन् २०१७ अक्टोबरदेखि एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय शहरी विकास कार्यक्रमअन्तर्गतको परियोजना थालिएको थियो । परियोजना आउँदो १८ मे २०२० मा सम्पन्न हुँदैछ । यसको कूल लागत रु. ३ अर्ब ९९ करोड छ । परियोजनामा छनोट भई थालिएका कतिपय कामको प्रगति ९९ प्रतिशत पुगेको छ । सडक, ढल निकास, पक्की नाला,कालोपत्रे सडक र फुटपाथ निर्माण भएको परियोजना कार्यलयले जनाएको छ ।
‘‘हालसम्म सबै निर्माणमा ७९ प्रतिशत निर्माण प्रगति हाँसिल भएको छ । अबको तीन महिनामा परियोजनाका सबै काम पूरा गर्ने तयारी छ’’, परियोजनाका प्रमुख इन्जिनियर भरत न्यौपानेले भने,‘‘अब केही सडकको काम बाँकी छ त्यो पनि समयमै पूरा गर्दैछौं ।’’ परियोजनाअन्तरगत ४२ किलोमिटर ढल निर्माण भएको छ । ढल निकासको अन्तिम चरणको काम अन्तिम परीक्षण हुने न्यौपानेले बताए ।
यो परियोजना अन्तर्गत जतुवास्थित सिंघीया खोला किनारमा निर्माण भएको ढल प्रशोधन केन्द्र (ट्रिट्मेन्ट प्लान्ट) मा सहरभरिका घरबाट जम्मा हुने दिशापिसाब पाइपमार्फत पुग्नेछ । तीनपैनीदेखि दक्षिण मेनरोड र आसपासका सबै सडकहरु, बरगाछी चोकदेखि महेन्द्रचोक, बसपार्क हुँदै जतुवासम्म ढल जडानको काम पूरा भएको इन्जिनियर न्यौपानेले जनाएका छन् । न्यौपाने भन्छन्,‘‘अब नयाँ बनाइने घरमा सेफ्टी ट्यांकी बनाउनै पर्दैन । सोझै महानगरले निर्माण गरेको पाइपबाट मेनहोलतर्फ फोहोर पठाइने छ ।’’ ४२ किलोमिटर ढल निर्माणमध्ये ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । करिब ५० किलोमिटर बनेको छ । फुटपाथको काम पनि तीव्र गतिमा भईरहेको छ ।
७४ मध्ये ५० किलोमिटर सडक कालोपत्रे भएको छ । परियोजनाअन्तर्गत पानीटंकी–रोडशेष, तीनपैनी–अस्पताल चौक,देवकोटा चोक–जतुवा,कञ्चनबारी–पश्चिम बस्ता,जलजलामोड–अस्पताल चौक, विराटनगर १५ प्रजातन्त्र मार्ग, मिलन मार्ग,ठाकुरबाडी रोड जस्ता व्यस्त सडक कालोपत्रे भईसकेका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीका अनुसार सडक र अरु निर्माणले विराटनगरको मुहारमा परिवर्तन देखिन थालेको छ । बिजुली पोललाई व्यवस्थित गरी इन्टरनेट, टेलिफोनका तारका गुजुल्टा व्यवस्थित गरिएको छ । खम्बाहरु व्यवस्थित सडकका छेउमा सारिएका छन् । महानगर अगाडिदेखि जलजलामोडसम्म रोड ब्युटिफीकेसनअन्तर्गत गमलामा फूल र हरियाली बनाउने काम थालिएको छ । डस्टबिन राखिएको छ । कालिमन्दिर क्षेत्रमा पार्किङ निषेध गरिएको छ ।
अधिकारी भन्छन्,‘‘आउँदो पुस्तालाई आगामी पचास वर्षसम्मको लागि व्यवस्थित विराटनगर दिने हाम्रो अभियान छ ।’’ सडकका धुलोलाई अब निर्माण लगत्तै स्थायी रुपमा समाधान गर्न महानगरको प्रयास हुने अधिकारी बताउँछन् ।
बनेका राम्रा सडकहरुमा नियमित सफाई गर्न बु्रमर चलाउने, पानी हाल्ने र यसमा स्थनीयलाई समेत सहभागी गराउन महानगरको अभियान चलाउने महानगर प्रमुख पराजुली बताउँछन् । भन्छन्,‘‘महानगर एक्लैको प्रयासबाट सबै काम सम्भव छैन । यसमा महानगरवासीको पनि सहयोग चाहिएको छ । तर, हामी व्यवस्थित विराटनगर निर्माणको काममा गतिशील छौं ।’’
उनले रानीदेखि उत्तर ढाटसम्म ६ लेन सडकलाई प्रदेश सरकारको सहयोगमा ब्युटिफिकेसन गर्ने र सुनसरी–मोरङ सिंचाइ योजनाको नहरलाई वैकल्पिक सडक बनाउने समेत योजना रहेको सुनाए ।