धरानः मृगौला र पेटको अल्सरका कारण गत आइतबार मृत्यु भएका धरानका पुर्वमेयर कृष्णनारायण पलिखेको शोकमा धरान उपमहानगरपालिकाले आज े शोक विदा दिने निर्णय गरेको छ ।
उपमहानगरपालिकाको तर्फबाट वरिष्ठ प्रशासकिय अधिकृत गणेश प्रसाद खतिवडाले शोक विज्ञप्ती जारी गर्दै मंगलबार (आज) १ दिन शोक बिदा दिइएको जानकारी गराएका छन् । पुर्व उपप्रमुखको मृतआत्माको चीरशान्तिको कामना गर्दै सोमबार नगरप्रमुख स्तरिय निर्णय अनुसार मंगलबार १ दिने शोक विदा दिने निर्णय भएको जनाएको छ । शोक विदामा नगर कार्यपालिकाको कार्यालय सहित मातहतका कार्यालय, सामुदायिक विद्यालय, कलेजहरुमा पनि शोक बिदा दिनका लागि अनुरोध गरेको छ ।
पुर्वउमेयर पलिखेको सोमबार जातीय परम्परा अनुसार धरान १४ को खत्रीधारामा अन्त्येष्टी गरिएको छ । पलिखेको काठमाण्डौंको मेडिसिटि हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो । पलिखे करिब डेढ महिनादेखि राजधानीमा उपचाररत थिए । उनलाई मृगौला र पेटको अल्सर समस्या देखिएको थियो । पछि, प्रेसर बढेर टाउकोमा रगत जमेपछि ४ दिनअघि अप्रेशन गरिएको थियो ।
मृतक पलिखे २०५४ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट उपमेयरमा विजयी भएका थिए । तर, पछि मेयर र पार्टीसँग मतभेद बढेपछि उनले उपमेयरबाट राजिनामा दिएका थिए । उनी स्थानीय निकायको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा मेयर पदमा उठेका थिए । पछिल्लो समय उनी जनसरोकार मञ्च नेपाल नामक संस्था स्थापना गरेर धरानको समसामयिक तथा विकासका मुद्दाहरुमा आवाज उठाउने गरेका थिए । उपमहानगरपालिकाको विकृति, भ्रष्टचारविरुद्धमा जनअभियानको नेतृत्व नै गरेका थिए । उनले सर्दु जलाधार क्षेत्र बचाउनको लागि अभियानको नेतृत्व गरेका थिए ।