इलामः इलाम नगरपालिकाको छैटौ नगरसभा ३४ बुँदे प्रस्ताव पारित गर्दे सम्पन्न भएको छ । चार दिन सम्म चलेको नगरसभाले नगरपालिकालाई अन्य पालिका सँग जोड्ने सडक निर्माण देखी पाईलट ट्रेनिङ स्कुल निर्माण गर्ने सम्मका निर्णय गर्दै सम्पन्न भएको छ ।
सभाको पहिलो दिन कर्मचारी ब्यवस्थापन सम्बन्धी ऐन २०७४ संसोधनका लागि प्रस्ताव, नगरपालिकाको संगठन तथा ब्यवस्थापन सर्भेक्षण प्रतिवेदन २०७६ को प्रस्तुती र सार्वजनिक निजी साझेदारी लगानी ब्यवस्थापन तथा सञ्चालन ऐन २०७४ संसोधनका लागि प्रस्तावहरु सर्बसम्मत स्वीकृत गरेको हो । सभाले नगरपालिकाको विकासका लागि पर्यटकीय नगर घोषणा गर्दै यस अनुरुपका कार्यहरुलाई सम्बोधन गरी सहयोग गर्न संघीय तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय, बाँदर, बँदेल, मृग, दुम्सी लगायत बन्यजन्तु र मानवको द्वन्द्वलाई व्यवस्थापन र बाँदरलाई व्यवस्थापन गर्न प्रचलित ऐन संशोधनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने साथै मानव र बन्यजीवजन्तु बीचको सो द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वन मार्पmत नै कार्यक्रम अघि बढाउने, माइजोगमाईको दोभानदेखि दोलखा हाइड्रोको इन्टेकको मास्तिर रहेको साँगुरो जग्गामा जलाशय हुने गरी बहुद्देश्यीय बाँध बाँधी विद्युत उत्पादनको लागि नगरपालिकाले प्रक्रिया अगाडि बढाई नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यसै गरि सदरमुकामलाई अन्य पालिकाहरुसँग जोड्ने सडक इलाम बेलासे झापा, इलामबजार माइपोखरी सन्दकपुर सडक, रत्नचोक इन्टेक साङ्गरुम्वा मंगलबारे सडक, सुम्बेक रिब्स सडक, सिंगफ्रिङ्ग नयाँबजार सडक, बेनीनगर बज्रदेवी नयाँबजार सडक लगायतका सडक स्तरोन्नति÷कालोपत्रे गर्नका लागि संघीय तथा प्रदेश सरकारसँग माग गर्ने, बिर्तामोड दानाबारी चिसापानी सोयाक बेलासे हुँदै इलाम ९ भन्ज्याङ्गसम्म र चिसापानीदेखि माईखोलासम्मको छोटो दुरीको राजमार्ग निर्माण गर्न नेपाल सरकार तथा १ नं. प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाका प्रबक्ता ठाकुरनारायण श्रेष्ठले बताएका छन ।
इलाम नगरपालिकामा शिक्षाको गुणस्तर सुधारको लागि नगरसभाका सदस्य श्यामकमल मुखियाले प्रस्तुत गरेको प्रतिवेदन माथी छलफल भएको थियो । सो प्रतिवेदनमा नगर सभाका सदस्यहरु डाकप्रसाद दुलाल, सञ्जिब राई, गृष्म सुब्बा, भानु घिमिरे र टंकबहादुर खत्रीले आफ्ना धारणाहरु राखेका थिए । प्रतिवेदन माथिको छलफल पश्चात सर्बसम्मतिले सो प्रतिवेदन स्वीकृत भएको छ । यस्तै नगरसभाका सदस्य तथा इलाम नगरपालिकाकी उपप्रमुख शुसीला नेम्बाङ्गले प्रस्तुत गरेकी विनियोजन ऐन संसोधन विधेयक र आर्थिक ऐन २०७६ लाई सर्बसम्मत रुपमा नगरसभाबाट पारित गरिएको छ । यसरी संसोधन पश्चात इलाम नगरपालिकाको आर्थिक वर्ष ०७६÷७७ को बार्षिक बजेट १ अर्ब ३४ लाखको भएको छ । छैटौं नगरसभाबाटै अर्थ तथा सार्वजनिक लेखा समिति, विद्यायन समिति, सामाजिक विकास समिति, सुसासन समिति र कृषि, पर्यटन तथा प्राकृतिक श्रोत समिति गरी ५ वटा विषयगत समितिहरु बनाइएको श्रेष्ठले बताएका छन ।