धरानः पारिवारिक वातावरणमा ज्वाईलाइ गरिने सम्मानका साथ खाना खुवाउने रेष्टुरेन्ट धरानमा फागुन १४ गते देखि संचालनमा आउने भएको छ ।
ज्वाई सम्मानका साथ खाना खुवाउनका लागि धरान १० पुतलीलाइन स्थित विजयपुर हस्पिटल अगाडि डि–माण्डुले ज्वाँई खाना सञ्चालनमा आउने भएको हो । डेढ वर्ष अघि देखि डि काठमाण्डौं मम पसल संचालन गर्दै आएका हरि श्रेष्ठले फागुन १४ गते देखि परम्परागत स्वादमा ज्वाई खानाका परिकारहरुको होटल संचालनमा ल्याएका हुन् । डि काठमाण्डौंलाई नाम फेरेर डि माण्डु मःम नामकरण गरेका छन् भने ज्वाँई खाना पनि थप सञ्चालनमा ल्याउदैछन् ।
आज सोमबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले नेपाली समाजमा ज्वाँईलाई दिइने अतिथि, सत्कार र सम्मान जस्तै ज्वाँई खानामा पनि दिइने बताए । ज्वाँई खानामा मदिरा उपलब्ध नहुने र पारिवारीक वातावरण हुने उनले बताए । ज्वाँई खानाको मेनुमा मित ज्वाँई खाना, भाञ्जी ज्वाँई खाना, बहिनी ज्वाँई खाना, छोरी ज्वाँई खाना, ज्वाँई राजा खाना गरी ५ वटा खानाको सेट रहेको छ भने खाजामा ज्वाँई साहेब खाजा सेट पनि पाइने श्रेष्ठले बताए । उद्घाटनको अवसरमा १० दिन बिशेष छुट दिइने पनि श्रेष्ठले बताए ।
ज्वाँई खाना करिब ३० लाख लागतमा सञ्चालनमा आउन लागेको हो । हाल ११ जना कर्मचारी रहेको छ । प्याकेटका मसलाहरु प्रयोग नगरी परम्परागतरुपमा तयार गरिएको मसला प्रयोग गरि बनाइएका खाना सेट पाइने उनले बताए ।