धरानः धरानस्थित पब्लिक हाइस्कुलमा लागेको औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेलामा उपभोक्ताको भीड बढेको छ ।
मेला शुरू भएको दोस्रो दिन नै पश्चिमदेखि ल्याइएको भीर मौरीको मह चाख्नदेखि घरेलु लत्ताकपडा, खाद्यान्न, मरमसला खरिद गर्नेसम्मको भीड लागेको हो । शुक्रबार दिउँसोदेखि साँझसम्म उपभोक्ताको भीड ह्वात्तै बढेको हो । शुक्रबार विशेषतः दैनिक ग्याँस चुल्होमा प्रयोग गर्ने गरेको पाइप, भीर मौरीको मह, तेह्रथुम ढाका उद्योगका सामग्रीले उपभोक्ताको ध्यान खिच्नुको साथै लोभ्याएको छ ।
‘आज अवलोकनकर्ता बढेका छन्’, मेला संयोजक शिवराज श्रेष्ठले भने, ‘शुक्रबार मात्रै सयौं अवलोकनकर्ता आए ।’ औद्योगिक प्रदर्शनीले उपभोक्तालाई फाइदा पुग्ने उनले जानकारी दिए ।
यसपटकको औद्योगिक मेलामा विशेषतः जुत्ता–चप्पलमा १५ देखि ६० प्रतिशत छुट दिइएपछि उपभोक्ता आकर्षित बन्दै गएका छन् । फागुन २४ गतेसम्म लाग्ने मेलामा जुत्ता–चप्पल मेला भने अझै बढ्न सक्ने आयोजकले जनाएको छ । मेलामा अटोबाइल्स, औद्योगिक सामग्री, हस्तकला उद्योगबाट उत्पादित सामग्री, गार्मेन्ट तथा छालाजन्य वस्तु, श्रृङ्गार सामग्री, कृषि उत्पादन, घरेलु वस्तुको लगायतका सामग्री राखिएका छन् । मेलामा राष्ट्रिय उद्योग व्यवसाय तथा बहुर्राष्ट्रिय कम्पनीहरू, हस्तकला उद्योगहरू, गार्मेन्ट छालाजन्य वस्तुहरू, बाल उद्यान तथा मौलिक नेपाली खाजाका परिकारहरू पनि राखिएको छ ।
मेलाका प्रचारप्रसार संयोजक मानबहादुर दियाली (विश्वकर्मा) ले मेलाको दोस्रो दिन भएपनि उपभोक्ता र अवलोकनकर्ताको भीड बढ्दै गएको बताए । शुक्रबार हस्तकला उद्योग, गार्मेन्ट तथा छालाजन्य वस्तु, श्रृङ्गार सामग्रीमा विशेषतः ग्राहक तानिएको उनले जानकारी दिए । मेलामा ८६ वटा स्टल राखिएका छन् । मेलामा बैङ्क तथा वित्तीय संस्थाका २ वटा, होटलका ५ वटा, ढाका अल्लो, ह्याण्डिक्राफ्ट ८ वटा, नर्सरी २ वटा, मह ४ वटा, गार्मेन्ट ५ वटा, अर्गानिक अचार, चिया, ललिपप गरी ९ वटा, अन्तर्राष्ट्रिय उत्पादन (भारत, पाकिस्तान, बङ्गलादेश) १४ वटा, पुस्तक तथा स्टेशनरी २ वटा, थोपा सिंचाइ एक वटा, स्थानीय भवन निर्माण एक वटा, भवन निर्माण कम्पनी (आरएमसी) एक वटा, अटोमोबाइल्सका २ वटा, आइसक्रिम २ वटा, बराह ग्रुप ६ वटा, बिस्कुट एक वटा, चाउचाउ २ वटा स्टल रहेको आयोजकले जनाएको छ । यस्तै, स्वास्थ्य, पर्यटन, चित्रकला ३ वटा, दुगड फुड्स २ वटा, कस्मेटिक एक वटा, प्लाष्टिकका भाडा ३ वटा, वाइ एक वटा, दुग्ध विकास संस्थान एक वटा, कार्पेट २ वटा र शैक्षिक संस्थाको एक वटा स्टल राखिएको आयोजकको भनाइ छ ।
गोर्खा ब्रुअरी प्रालिको मुख्य प्रायोजन, ग्लोबल आइएमई बैंकको प्रायोजन, बराह ग्रुप र डिभाइन वाइनको सहप्रायोजन, नेपाल उद्योग वाणिज्य महासंघ, धरान उपमहानगरपालिकाको प्रवद्र्धन र एशियन थाइफुड्स, जिपिएस मोटरसाइल हेरिटेज कार्पेट, ताज आइसक्रिम, बेबी आइसक्रिम, नेक्ड एक्सप्रेस, बाग्मती प्लाष्टिक प्रालिको सहयोगमा कार्यक्रम भएको हो ।